जनता आवास कार्यक्रमको तेस्रो किस्ता नपाउँदा १२ घर अलपत्र

जनता आवास कार्यक्रमको तेस्रो किस्ता नपाउँदा १२ घर अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, १२ भदौ । जनता आवास कार्यक्रमको तेस्रो किस्ता रकम नपाउँदा यहाँ निर्माण भइरहेका १२ घर अलपत्र परेका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा निर्माणाधिन घर आर्थिक अभावका कारण अलपत्र पर्दा १२ परिवार समस्यामा परेका हुन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा यहाँ शुरु भएको कार्यक्रमबाट पहिलो र दोस्रो किस्ताको रकम बुझेर घर निर्माणको काम थालेका धाईरिङका १२ घर तेस्रो किस्ताको रकम नपाएका कारण अलपत्र अवस्थामा पुगेका लाभग्राहीले गुनासो गरेका छन् । भूकम्प प्रतिरोधी घरसँगै शौचालय निर्माण भए पनि चार किस्तामा पाउनुपर्ने रकममध्ये अहिले ११ परिवारले दोस्रो किस्तासम्मको मात्रै रकम पाएका छन् भने एक परिवारको जग खनेको घडेरी नै अलपत्र अवस्थामा छ ।

जनता आवास कार्यक्रमसँग सम्झौता गरेका खुदुना दमैको सम्झौताको केही दिनपश्चात मृत्यु भएपछि उहाँको परिवारलाई कार्यक्रमले पहिलो किस्ताको रकमसमेत दिएको छैन । “आधा घर बनेका छन्, आधा बाँकी बनाउने उपाय छैन्”, स्थानीयवासी मनकुमारी परियारले भन्नुभयो, “घर सर्ने बेलासम्म त्रिपाल मुनीको बास भएको छ ।”

ज्याला मजदुरी गरेर खाने दलित, विपन्न तथा सिमान्तकृत परिवारले ऋणसमेत नपाएका कारण घर निर्माणको बाँकी काम अलपत्र परेको बताइएको छ । बनिसकेका घरका पर्खालसमेत वर्षाले भत्किने अवस्थामा पुगेको जनता आवास कार्यक्रम धाईरिङका संयोजक पूर्ण परियारले बताउनुभयो ।

सहरी तथा भवन डिभिजन कार्यालय पोखरा मातहतमा पर्वतमा जनता आवास कार्यक्रम सञ्चालनमा छ । कार्यालयले भने बजेट अभावका कारण तेस्रो किस्ताको रकम उपलब्ध गराउन नसकेको जनाएको छ । “कार्यक्रम बहुवर्षे हो, हरेक वर्षको बजेटमा सम्बोधन हुन्छ, सोही अनुसार दिने हो”, तत्कालिन डिभिजन निमित्त प्रमुख अनुप थापाले भन्नुभयोे “यो वर्षको बजेटले तेस्रो किस्ताको रकम पुग्छ होला, सबैले पाउनुहुन्छ ।”

कार्यक्रमअन्र्तगत लाभग्राहीलाई रु तीन लाख ३२ हजार पाँच सय चार किस्तामा भुक्तानी गरिने बताइएको छ । घर निर्माणका विभिन्न चरण पुरा गरेपछि पहिलो किस्तामा रु ८३ हजार १२५, दोस्रो किस्तामा रु ९९ हजार ७५०, तेस्रो किस्ता रु एक लाख १६ हजार ३७५ र चौथो किस्तामा रु ३३ हजार २५० भुक्तानी हुने जनाइएको छ । जनता आवास कार्यक्रमअन्र्तगत पर्वतमा १५० लाभग्राही छन् ।