नगरपालिकाद्वारा बाढी र पहिराबाट प्रभावितको दैलोमा पुगेर अनुगमन

नगरपालिकाद्वारा बाढी र पहिराबाट प्रभावितको दैलोमा पुगेर अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १२ भदौ। मेलम्ची नगरपालिकाले वर्षात्पछि आएको पहिरो र बाढीबाट प्रभावित नगरवासीको घर दैलोमा पुगेर अनुगमनको थालनी गरेको छ ।

यही भदौ ९ गते बसेको नगर विपद् व्यवस्थापन समितिको निर्णयबमोजिम जोखिमयुक्त घर तथा बस्तीको नगर प्रमुख डम्बर अर्यालसहितको टोलीले बिहीबारदेखि अनुगमन थालेको हो । तत्काल बाढीपहिराबाट विस्थापित भएका तथा जोखिममा रहेका बस्तीको पहिचान गरिने र तत्काल समाधानका उपाय अपनाउने नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । आवश्यक सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई समेत विवरण पठाइने छ ।

कार्यदलमा उपप्रमुख भगवती नेपाल, डा नं ६ का वडाध्यक्ष जितराज थापा, वडा नं ३ का वडाअध्यक्ष वसन्त गुरुङ, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ रहनुभएको छ । कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने भवन तथा विपद व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जितबहादुर कार्कीले बताउनुभयो ।

अमलेबस्तीका १५ घर सार्नुपर्ने प्रतिवेदन

मेलम्ची नगरपालिका–४ अमलेबस्ती खनाल गाँउका १५ घर पहिराको जोखिममा परेपछि अध्ययन गर्न गएको टोलीले प्रतिवेदन पेश गरेको छ । तीमध्ये पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने र बाँकीलाई पनि सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय चौताराका कार्यालय प्रमुख दिवाकर मास्केको नेतृत्वमा अध्ययनका लागि स्थलगतरुपमा खटिएको टोलीले बिहीबार प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा स्थानीय रामप्रसाद न्यौपाने र माधवराज खनालको घर पहिराले पुरिसकेकाले उहाँहरु अन्यत्र बसिरहेको उल्लेख छ । सोही टोलका लेखतबहादुर खनाल, कृष्णबहादुर खनाल र लुमडीप्रसाद न्यौपानेको घर भने चर्कीएर बस्न नमिल्ने भएको छ । उहाँहरु भने दिउँसो सोही घरमा बस्ने र राती मात्रै अन्यत्र सुत्न जाने गरेका प्रतिवेदनमा उल्लेख छ । बाँकी १० घर पनि पहिराको उच्च जोखिममा छन् ।