सञ्चारकर्मीको जागिर र तलव सुनिश्चित गर्न मार्ग

सञ्चारकर्मीको जागिर र तलव सुनिश्चित गर्न मार्ग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रेस युनियन गण्डकीले विभिन्न बाहानामा सञ्चार माध्यमले पत्रकार तथा कर्मचारीलाई निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका युनियनसम्बद्ध पत्रकारको भर्चुअल भेलापछि आज अपिल जारी गर्दै विभिन्न बाहानामा पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानवीय र सञ्चारगृहका मालिकको मनपरी भएको आरोप लगाएको छ । “बन्दाबन्दीलाई देखाएर नियमित तलव नदिनु गलत छ, कुनैपनि बाहानामा सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने र बेतलवी बिदामा बस्न बाध्य पारिएको घटनाप्रति गम्भीर ध्यानाकषर्ण भएको छ”, अपिलमा भनिएको छ ।

जागिर गुमाएका वा छोड्न बाध्य बनाइएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीको जागिर र तलव सुनिश्चित गर्न युनियनले माग गरेको हो । पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकारी समन्वय गर्न नसकेको भन्दै समाचार सङ्कलनमा निस्कने पत्रकारलाई सुरक्षाको प्रत्याभूति हुने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ । पत्रकारिता पेशाप्रति प्रदेश र स्थानीय सरकार अनुदार भएको आरोप लगाउँदै पत्रकारिता पेशाको सङ्कट समाधानको लागि आवश्यक सहयोग गर्न माग गरिएको छ । सबैजसो क्षेत्रमा सहुलियत दिईरहेको अवस्थामा सञ्चार क्षेत्रको संरक्षणमा सरकारको सहयोग नपुगेको उल्लेख गर्दै युनियनले सबैखाले सञ्चार माध्यमलाई सहुलियत ऋण वा लोककल्याणकारी विज्ञापनको अवधारणा अनुसार प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने जनाएको छ ।

पाँच बुँदे अपिलमा जोखिममा रहेका पत्रकारको सहज पिसीआर गर्न र सङ्क्रमण पुष्टि भएकाको उपचारमा सहयोग गर्न सरकारसँग माग गर्दै पत्रकारलाई पेशामै टिकाई राख्न लेखनवृत्ति र तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न पत्रकार महासंघसँग आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको निर्वाचनको तयारी गर्न निर्देशन दिनुभयो । युनियनको महाधिवेशनको तयारी पनि भैरहेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश संयोजक प्रदिप काफ्लेले कोरोनाको असर नियमित थपिँदै गएको र पत्रकारिता पेशामा गम्भिर सङ्कट आएकोले त्यसको निराकरणका लागि युनियनले आवाज उठाउँदै आएको बताउनुभयो । भेलामा प्रदेश अन्तर्गतका जिल्लाका प्रेस युनियन र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले जिल्लागत विवरण प्रस्तुत गर्नुभएको थियो । यूनियनका उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, साविक गण्डकी अञ्चल संयोजक टंक अधिकारी, केन्द्रीय सचिव केवी रानालगायतले कोरोना सङ्क्रमण र यसले सञ्चार क्षेत्रमा पारेको प्रभाव लगायतमा बोल्नुभएको थियो । ––रासस