११५ घरका खरको छाना हटाईयो

११५ घरका खरको छाना हटाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, १३ भदौ । स्मार्ट सिटीको अवधारणा अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । गत आर्थिक वर्षमा नगरपालिकाको रु. ५० लाख र शहरी विकास मन्त्रालयको सशर्त रु. पाँच लाख गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

“१४ वडाका खरका छाना विस्थापनका लागि लगत सङ्कलन गरेका थियौं”, नगरप्रमुख खाँणले भन्नुभयो, “२३० घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गत आर्थिक वर्षमा ११५ वटाको खरको छानो हटायौ, बाँकी पनि हटाउनेछौँ ।” स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको संभावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाईएको बताइएको छ । “कतिपय घर परिवार छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएका गरीब हुन् भनी फरक ढङ्गले हेर्ने र प्रवृत्तिको अन्त्य गर्न यो अभियान चलाईएको हो”, नगर प्रमुख खाँणले भन्नुभयो ।

खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।