दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट दुई करोडको क्षति

दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट दुई करोडको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट करिब रु दुई करोडको क्षति भएको छ । जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब रु दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण रु एक करोड ८० लाख ९१ हजार ४४० बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिना भएको छ । साउनमा मात्रै रु एक करोड चार लाख ५४ हजार १५० बराबरको क्षति भएको छ । अन्य महिनाको तुलनामा साउनमा बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ ।

साउनमामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् । केन्द्रका अनुसार साउनमा भारी वर्षात्का कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ घटना भएका छन् । यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका नौ, करेन्ट लागेका तीन र आगलागीका एक घटना भएका छन् । यसैगरी असारमा १९ विपद्का घटनामा परेर रु ४५ लाख ८७ हजार २९० बराबरको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिनुभयो ।

यसैगरी प्राकृतिक विपद्का कारण जेठमा रु १३ लाख ५० हजार र वैशाखमा रु आठ लाख बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । जेठमा प्राकृतिक विपद्का आठ र वैशाख महिनामा छ घटना भएका छन् । रासस