हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटियो

हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरामा एकाएक हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिएका छन् । लायन्स क्लबले डडेल्धुरा अस्पतालका लागि ल्याएका उपकरण हराएका भनिएका थिए । एनआइसीयूका १६ प्रकारका उपकरण अस्पतालमा जडान गरिएको अवस्थामा भेटिएका हुन् ।

उपकरण २०७६ मङ्सिर ५ गते अस्पताल पुगेको लायन्स क्लब डडेल्धुराले जनाएको थियो । अस्पतालले भने पुगे नपुगेको बारे कुनै जानकारी नभएको जनाएको छ । उपकरण अहिले अस्पतालको एनआइसीयूकक्षमा जडान गरेको पाइएको छ । यी उपकरण जडानपछि अहिले अस्पतालमा आठ श्ययाको एनआइसीयू सञ्चालनमा छ ।

उपकरण अस्पतालमै जडित भएको पाइएपछि लायन्स क्लबले हस्तान्तरण गरेको छ । औपचारिक कार्यक्रमका साथ क्लबले आज उपकरण हस्तान्तरण गरेको हो । लायन्स क्लब सामाखुसीले उपकरण पठाएको थियो । विदेशबाट आएका उपकरणको मूल्य रु २१ लाख छ । करिब रु १२ लाखका उपकरण विदेशबाट ढुवानी गर्दा रु नौ लाख खर्च भएको लायन्स क्लब डडेल्धुराका निवर्तमान अध्यक्ष अमर पुनले बताउनुभयो ।

आज क्लबका वर्तमान अध्यक्ष प्रेम महरले अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझालाई उपकरण हस्तान्तर गर्नुभयोे । सरकारी सामग्रीको हिफाजत नगरिँदा समस्या हुने जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले बताउनुभयो । उहाँले निजी सम्पत्तिलाई मात्रै माया गर्ने, हिफाजत गर्ने नेपाली परम्पराका कारण उपकरण गायब भएको जस्तो देखिएको बताउनुभयो ।

गत वर्ष पुसमा अस्पतालका मेसु परिवर्तन भएका थिए । स्टोरकिपर पनि परिवर्तन भएकाले लायन्स क्लबले उपलब्ध गराएका उपकरण हराएको जस्तो देखिएको अस्पतालका मेसु डा जगदीशचन्द्र विष्टले बताउनुभयो । अस्पतालमा जडान भएका एनआइसीयूका उपकरले अहिले दुई श्यया थप भएको छ । यसअघि अस्पतालमा छ श्ययाको एनआइसीयू सञ्चालनमा रहेको उहाँले बताउनुभयो । रासस