स्याउको उत्पादनमा कमी

स्याउको उत्पादनमा कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्लामा यो वर्ष स्याउ नफलेपछि किसान चिन्तित भएका छन् ।

स्याउको फूल तुषारोले खाएपछि यो वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको हो । चन्दननाथ नगरपालिका–१ का लक्ष्मी भण्डारीलाई गतवर्ष आफ्नौ बगौंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएको थियो । उहाँले भन्नुभयो, “यो वर्ष बगौंचामा स्याउ नफलेपछि सुनसान भएको छ ।”

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान गरिएको छ । कृषि विकास कार्यालयका अनुुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन् । स्याउ रोपेको जमिनमा अन्य अन्न उत्पादन हुँदैन । “यस पटक न किसानसंग स्याउ छ, न त खाने अन्न”, स्थानीयवासी गोपीचन्द बुढाले भन्नुभयो, “असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारेको छ ।”

यो वर्ष स्याउ प्रतिकेजी रु ४०÷५० मा बिक्री भइरहेको छ । किसानले यसअघि प्रतिकेजी रु ३५ खरिदबिक्री गर्दै आएका थिए । यहाँको स्याउ देशका मुख्य सहरमा पठाउने समयमा निषेधाज्ञाले समस्या उत्पन्न गरेको स्थानीयवासी नर रावतले बताउनुभयो । कोरोना भाइरसले गर्दा यो वर्ष जुम्ला सदरमुकाम खलङ्गामा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो देखिएको छैन् । स्याउ उत्पादन घट्नु र कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा नै यसको प्रमुख कारण भएको स्थानीवासीको भनाइ छ ।

जुम्लाको कूल खेतीयोग्य ३९ हजार ४३५ हेक्टर जग्गामध्ये तीन हजार ७०० हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । रासस