जनता आवासले बनायो ३३३ विपन्न परिवारका नयाँ घर

जनता आवासले बनायो ३३३ विपन्न परिवारका नयाँ घर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १४ भदौ । जिल्लामा सञ्चालन भइरहेको आवास कार्यक्रमले जिल्लाका ३३३ दलित तथा विपन्न परिवारका नयाँ घर निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले घरबार नभएका सयौँ दलित समुदायका घर निर्माण गर्न थालेपछि यहाँका दलित समुदाय निकै खुशी भएका छन् ।

जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सवइञ्जीनियर योगेन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा भएका तर घर बनाउने रकम नभएर बसेका नागरिकलाई प्रदेश सरकारको आर्थिक सहयोगमा जनता आवास कार्यक्रमले निःशुल्क घर बनाउन थालेको छ, यसबाट गर्दा विपन्न समुदायले नयाँ घरमा बस्न पाउन थालेका छन् ।”

उक्त कार्यक्रम लागू भएर निःशुल्क घर निर्माण हुन थालेपछि यहाँका विपन्न वर्गहरु निकै खुशी भएका दिपायल सिलगढी नगरपालिका–५ घोलतडाका स्थानीय किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “घर नभएर समस्यामा परेका दलितसहित अन्य आर्थिक स्थिति कमजोर भएका परिवारलाई प्रदेश सरकारको जनता आवासले घर बनाउन थालेको छ, जसले गर्दा घर नभएकाले नयाँ घरमा बस्न पाउन थालेका छन् ।” उक्त कार्यक्रमले श्रमदानबाहेक कूल रु तीन लाखमा एकतले जस्ताले छाएको दुईकोठे भवन निर्माण गर्न थालेको हो । प्रदेश सरकारको जनता आवास कार्यक्रमले निर्माण गरेका सबै घर भूकम्प प्रतिरोधात्मक भएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सब–इञ्जीनियर दाहालले जानकारी दिनुभयो ।

विगतमा आफूसँग भएका जीर्ण अवस्थाका घरमा बस्नु पर्दा पानी पर्दा चुहिने तथा भत्किने डरले अर्काको घरमा शरण लिन जानुपर्ने बाध्यता भएको दिपायल सिलगढी नगरपालिका–५ घोलतडामा जनता आवासले बनाएको नयाँ घर पाएका स्थानीयवासी बहादुरे कोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा आफूसँग राम्रो घर नहुँदा पानी पर्दा घर चुहिएर कहिले रातभरि जाग्राम बस्नुपर्ने हुन्थ्यो त कहिले पहिराको डरले अर्काको घरमा शरण लिनुपथ्र्यो, सरकारले घर बनाइदियो, अहिले राम्रो भएको छ ।” भवन निर्माणसँगै उक्त कार्यक्रमले शौचालयसमेत निर्माण गरेको छ ।

सरकारले विपन्न परिवारलाई घरसहित शौचालयसमेत निर्माण गरिदिएपछि जिल्लामा खुला दिसामुक्त क्षेत्र भएको छ । यहाँको स्थानीय सरकारले खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिरहे पनि गर्न सकेको थिएन । अहिले जनता आवासले सबैका घरमा शौचालय निर्माण गरेपछि स्वतःरूपमा खुला दिसामुक्त भएको दिपायल राजपुरका स्थानीयवासी हरिश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्ला कागजमा खुला दिसामुक्त थियो तर व्यवहारमा थिएन अहिले जनता आवासले शौचालय बनाउन थालेपछि खुला दिसामुक्त आफैँ हुँदैछ ।”

आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले विसं २०६६÷६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालादेखि जनता आवास कार्यक्रम शुरु भएको थियो । पहिलोपटक सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम शुरुआत गरिएको भए पनि अहिले सुदूरपश्चिम प्रदेश सरकारले विपन्न तथा दलित परिवारका आवास निर्माण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम लागू गरेको बताइएको छ । ‘जनता आवास कार्यक्रम’ सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमले जिल्लामा कम्तीमा पनि एक हजार घर निर्माण गर्ने योजना बनाएको छ ।

गण्डीखोलामा पुल बनेपछि स्थानीयवासीलाई सहज

जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माण भएसँगै स्थानीयवासीमा खुशीयालीसमेत छाएको छ ।

विगतका वर्षमा पुल नभएका कारण बर्सातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण कतिपय स्थानीयवासीको खोलाले बगाएर ज्यानसमेत जाने गरेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पूर्वीचौकी गाउँपालिकाको रु ४६ लाख ८२ हजारमा उक्त पुल निर्माण भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा कार्यरत रहेको केदार ग्रामीण समाज नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको हो ।

वषाँैदेखि पुल नहँुदा गण्डीखोला आवतजावत गर्न समस्या भोग्दै आएका त्यहाँका नागरिक अहिले पुल बनेपछि आवतजावत गर्नमा निकै सहज भएको भन्दै खुशी भएका पुल निर्माण उभोक्ता समितिका अध्यक्ष नन्दसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलामा पुल नहुँदा निकै समस्या हुँदै आएको थियो, अहिले पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ, सबै खुशी भएका छन् ।”

उक्त खोलामा पुल नहुँदा स्थानीयवासी दैनिक आवतजावत गर्न ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने वाध्यता हटेको स्थानीयवासी दिनेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य थियौँ, अहिले पुल बनेको छ, कसैले अकालमै ज्यान गुमाउनुपर्ने छैन, हामी सबैलाई सहज भएको ।” उक्त पुलको लम्बाइ ९३ मिटर रहेको छ । नेपाल सरकारको तुइनमुक्त गर्ने अभियानअन्तर्गत सो खोलामा झोलुङ्गे पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।