नेकपाका कार्यकर्ता सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्दै

नेकपाका कार्यकर्ता सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर–८ ले कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएको छ । वडाका सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक औषधि वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो ।

होम आइसोलेसनमा रहेकाहरुसँगै सम्पर्कमा आएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ । सङ्क्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल अस्पताल लैजान सहज हुने अध्यक्ष पोखरेलले बताउनुभयो । नेकपा विराटनगर–८ ले तेस्रो चरणको अभियानअन्तर्गत होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको जनाएको छ । बलुवाही, विश्वकर्माचोक, जिम्दार टोल र राजवंशी टोलका २०० घरमा निर्मलीकरण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

होम आइसोलेसनमा रहेका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइन्चार्ज सरस्वती ओझाले बताउनुभयो । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञान बहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सीताराम राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशीलगायतकोे सक्रिय सहभागितामा होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै निर्मलीकरण अभियान चलाइरहेको हो ।

नोबेलमा बहिरङ्ग र आकस्मिक सेवा सञ्चालन

नोबेल शिक्षण अस्पताल विराटनगरले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी केही दिनदेखि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा सञालन गरेको छ । अस्पतालले बिरामीमा सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षाका लागि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याएको अस्पालका निर्देशक राजेश नेपालले जानकारी दिनुभयो । अस्पतालले आकस्मिक सेवाबाट सबै किसिमका बिरामीहरुलाई सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच अस्पताल प्रशासन र स्टाफ नर्सबीच छलफलमा सहमति कायम भई सामूहिक राजीनामा दिएका नर्सहरु काममा फर्केको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । केही दिनअघि सुरक्षा र तलब पारिश्रमिकको कारण देखाई अस्पतालमा कार्यरत ५० स्टाफ नर्सले सामूहिक राजीनामा दिएका थिए । अहिले २५ स्टाफ नर्सहरु काममा फर्किएको अस्पतालले जनाएको छ ।रासस