भैरवी मन्दिर पुनःनिर्माण सम्पन्न


जिल्लाको प्रमुख धार्मिकस्थल भैरवी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नंं २ मा रहेको मन्दिर २०७२ सालको भूकम्पले भत्काएर धराप बनाएपछि पहिलेको संरचना पूर्णरुपमा हटाएर पुनःनिर्माण गरिएको हो ।

पुरातत्व विभागले पुनःनिर्माण गरेको मन्दिर पुरानै शैलीमा छ । जिल्लाको प्रमुख धार्मिकस्थल तथा आस्थाको केन्द्र भैरवी मन्दिरमा भूकम्पले भत्किएको पाँच वर्षपछि भक्तजनले पूजार्चना गर्न पाउने भएका छन् ।

विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको र अबको केही दिनमा पूजार्चना गर्न सकिने बताउनुभयो । ‘निर्माणका सबै काम सकिइसकेको छ । मन्दिर सञ्चालनको साइत पनि गरिसकिएको छ । केही दिनमा नै सबैका लागि खुला गरिनेछ’, प्रमुख फुयाँलले भन्नुभयो ।

मन्दिरमा गरिने नियमित पूजा र पर्वको काम मन्दिरबाट नै सञ्चालन हुने विदुर– २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । भूकम्पले मन्दिर भत्काएपछि मूर्तिलाई बाहिर टहरामा राखेर पूजार्चना हुँदै आएको छ । मन्दिरमा पुग्ने दर्शनार्थीले टहरामा रहेका देवीदवताको प्रतिमामा पूजा गर्दै आएका छन् ।
मन्दिरमा गजूर पुरानै राखिएको छ । दुई पाखाको छानो पनि सुनको जलप लगाएको पुरानै राखिएको छ भने दुई पाखाको छानो चाहिँ भूकम्पको कारण बिग्रिएकाले नयाँ राखिएको वडाध्यक्ष शाहीले बताउनुभयो । शाहीका अनुसार मन्दिरमा एक हजार ३४८ ग्राम सुन जलप लगाउनका लागि प्रयोग भएको छ ।

मन्दिर रु चार करोड ६३ लाख लागतमा पुनःनिर्माण भएको हो । दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने मन्दिर चार वर्ष लागेको छ । गुणस्तरीय काठ, सिद्धहस्त कालीगढको अभावलगायत कारण मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको स्मारक संरक्षण कार्यालयका प्रमुख फुयाँलले बताउनुभयो ।
देशकै प्रमुख धार्मिक शक्तिपीठ नुवाकोट भैरवी मन्दिरमा सिन्दूरे जात्रालगायत विभिन्न जात्रा तथा मेला लाग्छ । दशैंँमा विशेष पूजा हुने गर्छ । मेलापर्वबाहेक अरु समयमा पनि नियमित पूजार्चना गर्नेहरुको भीड लाग्छ । रासस

प्रतिक्रिया दिनुहोस