पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
एक दिनमा विराटनगरमा ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आज थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एकएक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चारचार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित तीन हजार
प्रदेशमा आजसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३११ पुगेको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेशका २३ र प्रदेश बाहिरका नौ जना रहेको बताइएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज नौ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार १७६ जनाको पिसिआर परीक्षण भई हालसम्म ८७ हजार ५९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया