वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विशेष अस्पताल, भरतपुरको वास्तविकता जान्न इच्छुक रहेको बताउनुभएको छ । हेटौँडामा आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त अस्पतालको सामान चोरी भएको भन्दै सार्वजनिक भएको भिडियोका बारेमा चासो राख्नुभएको थियो ।
जवाफमा प्रमुख दाहाल र अस्पतालका अध्यक्ष अधिकरीले अस्पतालको सामान चोरी भएको नभइ स्थानान्तरण गरिएको बताउनुभएको थियो । चितवनमा कोरोना सङ्क्रमण तीव्र भएपछि नियन्त्रणबारे छलफल गर्न पौडेलले प्रमुख दाहाल र अस्पतालका अध्यक्ष डा अधिकारीलाई हेटौँडा बोलाउनुभएको हो ।
भेटमा मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि सरकार लागि परेको बताउँदै महानगरलाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री पु¥याइएको र अभाव हुन नदिने उल्लेख गर्नुभयो । पौडेलले अनावश्यक मान्छेले पिसीआर परीक्षण गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । उहाँले लक्षण भएका र कोरोना सङ्क्रमितहरुसँग प्रत्यक्ष सम्पर्क भएका तथा चिकित्सकको सल्लाहअनुसार मात्रै कोरोना परीक्षण हुनुपर्नेमा जोड दिनुभयो । पौडेलले आफ्नो क्षेत्राधिकारअनुसार सबै निकायले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भेटमा नगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले सञ्चालन गर्न लागेको आइसोलेशन केन्द्र तथा नयाँ पिसीआर मेसिन खरिदका लागि बजेट माग गर्नुभएको थियो । उहाँले भरतपुरमा कोरोना महामारीको अवस्था भयावह हुने देखिएकाले परीक्षणको दायरा बढाउनुपर्ने अवस्था आएको, कोरोना परीक्षणको रिपोर्ट समयमै दिन नसक्दा जनआक्रोश बढेको लगायतको समस्या राख्नुभयो ।
दाहालले महानगरले भरतपुरको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय बागेश्वरीमा आइसोलेशन केन्द्र सञ्चालनका लागि रु एक करोड माग गर्नुभएको थियो । छलफलमा डा भोजराज अधिकारीले विगतमा कोरोना सङ्क्रमित देखिए पनि हाल लक्षण भएका बिरामी देखिन थालेकाले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भरतपुरमा १० जना सङ्क्रमित भेण्टिलेटरमा रहेको जानकारी दिनुभयो । डा अधिकारीले चितवनमा १८ हजार नमूना परीक्षण गरिएको बताउँदै चितवनका १८ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि स्वचालित मेसिन खरिद गर्न पर्ने उहाँको भनाइ थियो । रासस
प्रतिक्रिया