कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया शुरु

कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया शुरु गरेको छ । अस्पतालमा आज भैरहवाका एक कोरोना भाइरस सङ्क्रमित गर्भवतीको शल्यक्रिया शुरु गरिएको हो ।

सिद्धार्थनगरपालिका–१ भैरहवाकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । डा. गौतमकै नेतृत्वमा सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी सङ्क्रमित महिला र शिशुको स्वास्थ्यावस्था सामान्य छ । बच्चा र आमाको पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी गौतमले बताउनुभयो ।

यसअघि प्रादेशिक अस्पतालमा सङ्क्रमित गर्भवतीको शल्यक्रिया व्यवस्था नहुँदा काठमाडौँ तथा बाँकेको कोहलपुर मेडिकल कलेजमा जानुपर्ने बाध्यता थियो । यही भदौ १ गते अस्पताल पुगेकी बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया नभएपछि कोहलपुर लगिएको थियो । अस्पतालमा शल्यक्रियाका लागि छुट्टै कक्षको व्यवस्था नभएपछि सङ्क्रमित गर्भवतीलाई कोहलपुर मेडिकल कलेजमा शल्यक्रिया गरिएको हो ।
यससम्बन्धि राससमा समाचार आएपछि सङ्क्रमित गर्भवतीको शल्यक्रियाको व्यवस्था मिलाउन प्रदेश सरकार तथा अस्पताललाई दबाब परेको थियो । अस्पताल प्रशासनले छुट्टै कक्ष तयार गरी सङ्क्रमित गर्भवतीको शल्यक्रियाको व्यवस्था मिलाएको जनाएको छ ।

प्रदेश नं ५ का कुनै पनि सरकारी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीका लागि उपचार तथा शल्यक्रियाको व्यवस्था नहुँदा समस्या सृजना भएको भन्दै अधिकारकर्मीहरुले समेत प्रदेश सरकारकोे ध्यानाकर्षण गराएका थिए । रासस