बिम्स्टेकको बडापत्रको मस्यौदा तयार

बिम्स्टेकको बडापत्रको मस्यौदा तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय सङ्गठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ ।

बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलङ्काले अप्रत्यक्ष रुपमा आज आयोजना गरेको सङ्गठनका वरिष्ठ अधिकारीहरुको बैठकले बडापत्रलाई अन्तिम रुप दिनाका साथै भावी महासचिवको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै बैठकले सङ्गठनका केन्द्रहरुका सम्बन्धमा पनि निर्णय गरेको छ ।

बैठकमा सङ्गठनको सत्रौँ मन्त्रिस्तरीय बैठक आगामी वर्ष आयोजना गर्ने श्रीलङ्काको प्रस्तावमा पनि छलफल गरेको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागीले काठमाडौँमा दुई वर्षअघि सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनपछि भएका प्रगतिको समीक्षा गर्दै पहिचान गरिएका सहयोगका क्षेत्रका कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयन गर्न सुदृढ उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले व्यापार र सम्पर्क सञ्जाल विस्तारलगायत पहिचान गरिएका सहयोगका परियोजना कार्यान्वयन गर्न सदस्य मुलुकहरुबीच घनिभूत र गाढा रुपमा सहयोग हुनुपर्नेमा जोड दिनुभयो । सदस्य देशहरुका परराष्ट्र सचिवहरुको बाइसौँ बैठक आगामी मार्चमा थाइल्यान्डमा हुने भएको छ ।