भैरवकुण्डको बृहत् सुधार थालनी

भैरवकुण्डको बृहत् सुधार थालनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित भैरवकुण्डको सुधारको थालनी गरिने भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न पालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

डिपिआर तयार भएपछि आवश्यक बजेटको लागि पर्यटन मन्त्रालय तथा विभागमा समेत अनुरोध गरिने पालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । पर्यटन मन्त्रालय र विभागका उच्च अधिकारीले डिपिआर तयार गरी पठाएमा बजेटको व्यवस्था गरिने आश्वासन दिएको हुँदा आवश्यक बजेट पाउनेमा आफू विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाइ छ ।

गाउँपालिका–४ स्थित फुल्पिङकट्टीको डाक्लाङबाट ३० किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ । सडक निर्माण गरिए पनि भोटेकोशी नदीमा पक्की पुलको अभावमा वर्षौसम्म यातायात सञ्चालन हुन नसकेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफू सूचना तथा सञ्चार मन्त्री हुँदा २०७४ सालमा बेलिब्रिज जडान गरेपछि अहिले यातायात सञ्चालन हुँदै आइरहेको छ ।

लिस्तीको चोकरमोकर भन्ने स्थानसम्म यातायातका साधन पुगिसकेको हुँदा त्यहाँबाट भैरवकुण्डसम्म पुग्ने सात किलोमिटर पैदलयात्राको लागि रेलमार्ग बनाउने कार्यक्रम रहेको छ । चोकरमोकर र भैरवकुण्डमा एक÷एक वटा हेलिप्याड निर्माण गर्नुका साथै बुद्ध पार्कको समेत निर्माण गरिने भएको छ ।

त्यसैगरी भैरवकुण्डमा अवस्थित शिव पार्वतीको मन्दिरको स्तरोन्नति गर्नुका साथै कुण्डको संरक्षण गरी त्यस स्थानको पहिचान गराएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो । साविक लिस्तीकोट गाविसमा पर्ने उक्त भैरव कुण्ड लेकमा अवस्थित छ ।

समुद्री सतहबाट ४२५० मिटर उचाइमा रहेको कुण्डको क्षेत्रफल नापी विभाग ट्रपिकल महाशाखाका अनुसार ८४ हजार १९३ वर्गमिटर रहेको छ । जिल्लाको पाँचपोखरी भन्दा ठूलो र बढी उचाइमा रहेको त्यस ठाउँमा प्रत्येक जनै पूर्णिमाको दिन तागाधारी र धामी झाँक्रीको ठूलो मेला लाग्ने गर्दछ ।

त्यसैगरी लिस्तीस्थित प्रख्यात उग्रचण्डी भगवतीको मन्दिर पनि रहेको छ । त्यस भेगका बासिन्दाले लिस्तीमाई भनेर पुकारिने उक्त मन्दिर मल्लकालमा स्थापित भएको जनविश्वास रहेको छ । भगवतीको मन्दिर नजिक बुद्धधर्मका धार्मिकस्थल पाउगुम्बा रहेको छ । हगाममा अर्को प्रख्यात आतीगुम्बा रहेको छ । त्यहाँ नेपाली र तिब्बतीसहित हाल १६१ जना आनी ९भिक्षुणी० रहेको वडाध्यक्ष मुके शेर्पाले जानकारी दिनुभयो ।