सायल गाउँपालिका–६ नारा गाउँका तीन बालकलाई एसओएस बालग्राम कैलालीले जिम्मा लिएको छ । राष्ट्रिय समाचार समिति ९रासस० मा ‘आमाबुबा नहुँदा बालक साहाराविहीन’ भन्ने समाचार प्रकाशित भएपछि डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरको पहलमा तथा सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि एसओएस बालग्राम कैलालीमा पठाइएको हो ।
आमाबुबा नहुँदा बेसाहारा भएका ती बालकको दीर्घकालीन व्यवस्थापनका लागि कैलाली पठाइएको सायल गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार बुबा बाजी खाँतीको करिब १५ महिना पहिले मृत्यु भएको र भारतको उडिसा माइती भएकी आमा सङ्गीता खाती गत फागुन महिनादेखि घर छोडेर सम्पर्कविहीन भएपछि बेसाहारा बनेका नौ वर्षीय लक्ष्मण खाती, चार वर्षीय गणेश र दुई वर्षीय कृष्ण खातीलाई शिक्षादिक्षादेखि दीर्घकालीन व्यवस्थापनका लागि एसओएस बालग्राम कैलाली पठाइएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीको रोहवरमा बाल हेल्पलाइन धनगढीका प्रतिनिधि विष्णुमाया पौडेलमार्फत ती बालकलाई एसओएस बालग्राम कैलालीमा पठाइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “बुबाको मृत्यु र आमा सम्पर्कविहीन भएपछि बालकहरु साहाराविहीन भएको समाचार प्रकाशित भएपछि जानकारी पायौँ, महिला विकास अधिकृत तथा बाल हेल्पलाइनका प्रतिनिधिको रोहवरमा उनीहरुलाई एसओएस बालग्राम कैलालीमा पठाएका छौँ, आशा छ उनीहरुको भविष्य राम्रै हुनेछ ।”
कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ती बालकलाई कैलालीमा लगेपछि १४ दिन जति बाल हेल्पलाइनले हेरचाह गर्नेछ भने तत्पश्चात उचित लालनपालन तथा शिक्षादिक्षाका लागि एसओएस बालग्राममा व्यवस्थापन गरिने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले जानकारी दिनुभयो ।



प्रतिक्रिया