अन्तर्राष्ट्रिय साक्षरता दिवस मङ्गलबार, राष्ट्रिय दिवस नयाँ मितिमा

अन्तर्राष्ट्रिय साक्षरता दिवस मङ्गलबार, राष्ट्रिय दिवस नयाँ मितिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।

विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिन (८ सेप्टेम्बर) सँगै मनाउन थालिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं. २०३१ सालबाट मनाउन थालिएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा मङ्गलबार ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । युनेस्कोले २० हजार अमेरिकी डलरको यसवर्षको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्दैछ । नेपालमा अन्तर्राष्ट्रिय दिवसका दिन सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् भने शिक्षा तथा मानव संशाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।-रासस