परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूषालका उपस्थितिमा उक्त मन्त्रालयमा आज परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका विष्णुप्रसाद भट्टराईबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सम्झौतापत्र हस्तान्तरण गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

सम्झौतापत्रमा नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्य गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्य अघि बढाउने रहेको छ ।

त्यस्तै, नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका र भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्याको समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने, चिया तथा कफी विकासका लागि आधारभूत एवं प्रयोगिक दुवै किसिमका अध्ययन र अनुसन्धान गर्ने सो पत्रमा उल्लेख छ ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यकपर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृति संयुक्त प्रकाशन गर्ने रहेको छ ।

जलवायु परिवर्तनका कारण नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउनसक्ने विभिन्न समस्या तथा असरको न्यूनिकरणका लागि अध्ययन अनुसन्धान गर्ने, चिया तथा कफीसम्बन्धी अध्ययन, अनुसन्धान, तालीम, दक्ष जनशक्ती उत्पादन, उच्च शिक्षा, नवप्रवर्तन र क्षमता विकासजस्ता कार्यक्रमलाई बढी उपयोगी तथा पूर्ण प्रयोगात्मक बनाउन सहकार्य गर्ने रहेको छ ।

चिया तथा कफी उत्पादन, उत्पादकत्व वृद्धि र नवप्रवर्तनसम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्र पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, आवश्यक श्रोतको व्यवस्थापन, अनुसन्धानका गतिविधि सञ्चालन, अनुसन्धानका निष्कर्षको प्रसार कार्य आदिको संयुक्त रूपमा खोजी गरी कार्यान्वयन र सहकार्य गर्ने पत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा चिया तथा कफी क्षेत्रमा अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माणसम्बन्धी आवश्यक पुर्वाधारको व्यवस्थापन गर्ने र नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका कार्यका लागि अन्य मुलुकका चिया तथा कफीमा अनुसन्धानात्मक कार्य गर्ने साझेदार अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको खोजी गरी सहकार्य गर्नेलगायत छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्नुपर्ने काममा चिया तथा कफी कृषकका बगानमै गर्नुपर्ने कार्यका लागि चिया र कफी कृषकसँग समन्वय गर्ने रहेको छ । नेपाल कृषि अनुसन्धान परिषदले गर्नुपर्ने काममा सम्झौतामा उल्लेख गरिएका लक्ष्य र उपलब्धी प्राप्तीका लागि दोश्रो पक्षले आवश्यकतानुसार वैज्ञानिक, प्राविधिक जनशक्ती एवं ज्ञान, सीप उपलब्ध गराउने रहेको छ । नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचनलगायत ऐनअनुसार प्रथम पक्षको विशिष्टिकृत अधिकार क्षेत्रभित्र परेका कार्य गर्नेछ ।.

मन्त्री भूषालले नेपालको १९७ वर्षको चियाको इतिहासलाई सम्झेर अझ बढी चिया कपी उत्पादन कार्यमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अन्य देशको तुलनामा नेपालमा किन चिया कफीको सोचेअनुरुप उत्पादन बढाउन सकेनौँ भनेर अध्ययन गरी सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।रासस