विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउन सांसद सङ्ग्रौलाको माग

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउन सांसद सङ्ग्रौलाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।” सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गर्न नसक्नु खेदजनक रहेको उहाँले विज्ञप्तिमा भन्नुभयो ।

डा सङ्ग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रम मन्त्रीको पटकपटक ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

“कोभिड–१९ महामारीका कारण काम गुमाएर लामो समयदेखि खानका लागि पनि अरुको राहतको आशमा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्ने, दशैँ अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाइयोस्”, विज्ञप्तिमा उल्लेख छ । रासस