प्रदेश प्रमुखद्वारा पिसिआर ल्याबको उद्घाटन


झापाको कनकाई नगरपालिका–४ कोटीहोममा समुदायले तयार पारेको पिसीआर परीक्षण प्रयोगशालाको उद्घाटन भएको छ । केही दिन अघिदेखि नै कोभिड–१९ को परीक्षण हुँदै आएको ल्याबको आज प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।

सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुवाइमा झापामा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि रु एक करोड २० लाख सङ्कलन भएको थियो । सोही रकमले ल्याब स्थापना गरिएको हो । मेची प्रादेशिक अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी ल्याबमा कोभिड–१९ को परीक्षण हुँदै आएको छ ।
ल्याबमा एक दिनमा ३०० नमूना परीक्षण गर्न सकिने ल्याबका माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले बताउनुभयो । कर्मचारी तथा प्राविधिकको व्यवस्था हुनसके एक दिनमा ४०० जनाको परीक्षण हुनसक्ने पोखरेलको भनाइ छ । त्यहाँ राखिएको मेसिनमा एक पटकमा ९६ जनाको स्वाब परीक्षण हुने प्रयोगशालाले जनाएको छ ।

ल्याबमा कर्मचारीको व्यवस्थापन भने कनकाई नगरपालिकाले गरेको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र जिल्ला सहकारी सङ्घको समन्वयमा २५–२५ लाख रुपैयाँ प्राप्त भएको छ भने विभिन्न वित्तीय एवं सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग जुटेको छ । रासस

प्रतिक्रिया दिनुहोस