खानेपानी योजना निर्माण शुरुः स्थानीयवासी उत्साहित

खानेपानी योजना निर्माण शुरुः स्थानीयवासी उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खानेपानीको चरम समस्या रहेको अमरगढी नगरपालिका–७ मा खानेपानी योजना निर्माण हुने भएको छ ।

सङ्घीय सरकारको रु २३ लाख ८१ हजार, नगरपालिकाको रु ५४ लाख ११ हजार र गैरसरकारी संस्था ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको रु २ करोड ४५ लाखको लागतमा योजना निर्माण शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहुँदा अब ‘एक घर एक धारा’ पाइने भएपछि स्थानीयवासी उत्साहपूर्वक खानेपानीको योजनामा श्रमदान गरिरहेका छन् । स्थानीय उपभोक्तामार्फत रु ६७ लाख ६४ हजारको जनश्रमदानमा योजना सम्पन्न हुने खानेपानी उपभोक्ता सरसफाई समितिका अध्यक्ष टेकबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो, अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्ने गरी योजना शुरु गरिएको छ ।” उक्त योजनाबाट यहाँका ५ सय ९४ घर परिवार लाभान्वित हुनेछन् ।

अब केही महिनामा नै घरमा सफा पानी घरकै धाराबाट थापेर खान पाउने हुँदा आफूहरु पनि योजना निर्माणमा लागेको स्थानीयवासी गणेश पाण्डेले बताउनुभयो । “विगतमा खानेपानीको समस्या हुँदा आफूहरूलाई खानेपानीको जोहो गर्न हिउँद् होस् वा वर्षा सधैँ समस्या थियो”, उहाँले भन्नुभयो, “एकघर एक पानीको धारा बनेपछि अब त आफ्नै घरमा धाराबाट पानी पिउने दिन आउनेछ ।”

उक्त योजना निर्माण गर्न जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जनाका दरले काममा जुटेका छन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा वर्षौपछि स्वच्छ खानेपानी पुग्ने भएको हुँदा स्थानीयवासी खुशी भएका छन ।”
चालु आर्थिक वर्षमै योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।