आफू रहेकै स्थानमा दशैँ, तिहार लगायतका चाडपर्व मनाउन आग्रह

आफू रहेकै स्थानमा दशैँ, तिहार लगायतका चाडपर्व मनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नजिकिँदै गरेका चाड पर्वमा कोभिड–१९ को जोखिम हुन नदिन वैकल्पिक योजना निर्माण थालिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले स्थानीय तहबाट सङ्क्रमण रोक्ने वैकल्पिक योजना बनाई लागू गर्ने निर्णय गरेको हो । बैठकले दशैँ, तिहार लगायत पर्वमा जिल्ला भित्रिने मानिसको सङ्ख्या तथा यसबाट हुनसक्ने जोखिमको रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो स्थानीय तह भित्र आवश्यक तयारीको पहिचान गर्न जिल्लाका आठवटै स्थानीय तहलाई निर्देशन समेत दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार स्थानीय तहस्थित सो केन्द्रले आवश्यक ठानेका तयारी बारे जिल्लामा पुनः छलफल भई कार्यान्वयनको चरणमा जाने छ ।

बैठकले चाडपर्वमा जिल्ला भित्रनेलाई क्वारेन्टिनमा राख्न नमिल्ने हुँदा सकेसम्म आफू रहेकै स्थानमा चाड पर्व मनाउन जिल्लावासी मार्फत आ–आफ्ना आफन्तलाई सन्देश पु¥याउने निर्णय गरेको छ । यस्तै ‘जीवन बाँचे आगामी वर्ष चाड पर्व मनाउन सकिने’ सन्देश सहित सकभर यथास्थानमा चाड पर्व मनाउने व्यवस्था गर्न पहल गर्न प्रदेश स्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई पत्र पठाउने समेत बैठकले निर्णय गरेको छ । प्रशासनले बन्दाबन्दी खुलेको अवस्थामा सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न तथा गराउन समेत जिल्लावासी र यातायात व्यवसायीहरुलाई अपील गरेको छ । जिल्लामा हालसम्म तीन जना महिला सहित २४ जनामा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये १३ जना निको भई घर फर्किसकेका छन् ।