पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसबाट हरेक पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ,। यस यन्त्रले पिपिई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्काे एयसटिएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पिपिई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पिपिईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराउनुभयो । उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पिपिई च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पिपिइ तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताउनुभयो ।

नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ (पिसिटी) नाम दिएको छ । उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पिपिईलाई प्रमाणीकरण गरेर बजार प्रवद्र्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ । नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ । रासस