पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।
त्यसैगरी कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ७१ हजार ८२१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पिसीआर परिक्षण गरिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ११ सय ४७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ५३ हजार १३ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४६७ पुगेको छ ।
०००
कोरोनाभाइरसबाट विश्वभर तीन करोड २७ लाख भन्दा बढी संक्रमित, ९ लाख ९३ हजार भन्दा बढीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २७ लाख ८३ हजार पुगेका छ । कूल संक्रमितमध्ये दुई करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करिब ७६ लाख मानिस सक्रिय सङ्क्रमित छन् ।
विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख सङ्क्रमित भएका छन् भने यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
०००
ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु
ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ९२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५३७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९६५ जना सङक्रमित भएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी सङ्क्रमित ठिक भएका छन् । ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै सङ्क्रमित हुने देशमा पर्दछ । अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट सङ्क्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन् ।



प्रतिक्रिया