प्रदेश नं १ मा सङ्क्रमित तीन हजार ः प्रदेश नं २ मा कुल मृतक ९४, प्रदेश नं ५ को रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमण

प्रदेश नं १ मा सङ्क्रमित तीन हजार ः प्रदेश नं २ मा कुल मृतक ९४, प्रदेश नं ५ को रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीमा तीन महिला र १८ पुरुष, दुहवीमा तीन महिला र चार पुरुष, धरानमा एक महिला र एक पुरुष, विराटनगरमा तीन महिला र सात पुरुष, बेलबारीमा दुई महिला र एक पुरुष तथा रतुवामाईमा दुई पुरुषमा छन् ।

मन्त्रालयका अनुसार झापाको दमकमा तीन महिला र पाँच पुरुष, बा¥हदशीमा एक महिला र तीन पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा एकएक पुरुष, पाँचथरको फिदिममा एक पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४५४ पुगेको छ । आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र कोभिड–१९ आइसोलेसन केन्द्र रङ्गेलीबाट दुई गरी १४ जना निको भएर घर फर्केका छन् । हालसम्ममा कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार १७५ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्ममा ९० हजार १६५ जनाको परीक्षण भइसकेको छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्दा विराटनगर उपमहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो तथा सुनसरी, मोरङ र झापा जिल्लामा बढ्ने क्रममा रहेको पाइएको छ ।

जनकपुर– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।
सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा ८८ नयाँ सङ्क्रमित थपिएका छन् । सोअनुरुप सप्तरी र सिरहाबाट एकएक, धनुषाबाट २९, महोत्तरीबाट ११, सर्लाहीबाट १६, रौतहटबाट तीन, बाराबाट आठ, पर्साबाट १८ र अन्य एक जना गरी ८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ । तीमध्ये ५१ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म चार हजार ९८८ जना निको भएर घर फर्केका छन् ।प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनमा आजसम्म ७२१ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ५९८, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेशनमा चार हजार १०३ जना बसेका छन् ।

जनताको ज्यान रक्षाका लागि एक जुट

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनुषा र महोत्तरीका सरोकार पक्षसँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन बर्दिबासमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा आठै जिल्लाका सरोकार पक्षले दिएको सुझावमध्ये कतिपय कार्यान्वयन चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्दिबासमा सञ्चालित पिसिआर प्रयोगशालामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन उहाँले दिनुभयो ।
उक्त छलफलमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोनाबाट जोगिनका लागि निर्धारण गरिएका मापदण्ड पालना गराउनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदमबारे आआफ्ना प्रस्तुति दिनुभएको थियो । यसअघि प्रदेश सरकारले सरोकार पक्षसँग सुझाव लिन पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी र सिरहामा छलफल गरेको थियो ।
रुपन्देही– जिल्लामा थप ११ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सङ्क्रमित प्रहरीको संख्या १५ पुगेको छ ।

चौबीस जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा १८ जनाको रिपोर्ट आउँदा ११ जनामा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । सङ्क्रमित प्रहरी सबै पुरुष रहेको र उनीहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्ष्टिच्युटको आइसोलेशनमा बसेको बताइएको छ । यसअघि चार प्रहरी र १५ थुनुवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । इलाका प्रहरी मातहतमा झण्डै डेढ सय प्रहरी कार्यरत छन् । तीमध्ये १५ महिला छन् ।

लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटिएका केही प्रहरीलाई ज्वरो आउने समस्या देखिएकाले पिसिआर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।
प्रहरीको सुरक्षाका लागि आर्युवेदिक औषधि, मास्क र सेनिटाइजर प्रदान गरी दूरी कायम गरेर काम गर्न आग्रह गरिएको छ । जिल्लामा करीब एक हजार दुई सय सुरक्षाकर्मी कार्यरत छन् ।

दाङ जिप्रका बन्द

कर्मचारीमा कोरोना सङक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।प्रशासनले आज विज्ञप्ति प्रकाशन गरी एक कर्मचारीमा सङ्क्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शान्तिसुरक्षा र मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइएको छ ।

राप्ती प्रादेशिक अस्पतालको बहिरंग सेवा बुधबारदेखि

तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले बुधबारदेखि बहिरङ्ग सेवा शुरु गर्ने भएको छ । अस्पताल विकास समितिको आज बसेको बैठकले सबै स्वाब परीक्षण गरिएकाले कोरोनाको जोखिम नभएको जनाई सेवा शुरु गर्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पदमराज अधिकारीले बताउनुभयो । अस्पतालले सोमबारदेखि आकस्मिक र प्रसूति सेवा शुरु गरेको थियो ।

उहाँका अनुसार शनिबार दुई चिकित्सकसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बन्द गरिएको थियो । अस्पतालका बाँकी कर्मचारी तथा बिरामीको स्वाब परीक्षण गर्दा आज एकएक स्टाफ नर्स र कार्यालय सहयोगीको कोरोना पोजेटिभ आएको थियो । उनीहरु सबैलाई आइसोलेशनमा राखिएको छ । रासस