महामारी नियन्त्रणका लागि प्राप्त सुझाव कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री राउत

महामारी नियन्त्रणका लागि प्राप्त सुझाव कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री राउत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनुषा र महोत्तरीका सरोकारवालासँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन आज बर्दिवासमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा आठवटै जिल्लाका सरोकारबालाले दिनुभएको सुझावमा कतिपय कार्यान्वयनको चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिलेको कोरोनाको महामारीको समयमा लामो गफ होइन काम गर्ने बेला रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, “जनता बाँचेपछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौँ ।” बर्दिवासमा सञ्चालनमा रहेको पिसिआर प्रयोगशालामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोनाबाट जोगिनका लागि निर्धारण गरिएका मापदण्डलाई पालना गराउनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्ने बताउनुभयो । सो अवसरमा पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बर्दीवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले कोरोना नियन्त्रणमा आआफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।

धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थामा आगामी दिनमा चाल्नुपर्ने कदम बारे आआफ्ना प्रस्तुती राख्नुभएका थिए । यसअघि प्रदेश सरकारले सरोकारवालासँग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा, सप्तरी र सिरहाको लहानमा छलफल गरेको थियो । रासस