पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड पुस २८ गते हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराँते हलमा गर्न लागिएको मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । यस पटक १० विधामा अवार्ड प्रदान गरिने छ । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एशियन जर्नालिस्ट अफ द एयर अवार्ड प्रदान गरिने अध्यक्ष सुवेदीले बताउनुभयो । पिपल्स च्वाइस् अवार्ड, स्पेसल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ ।

पिपल्स च्वाइस अवार्ड एसएमएस भोटिङका आधारमा गरिने आयोजक संस्थाले जनाएको छ । स्पोर्टस् अवार्डको यो १७औँ संस्करण हो । आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । एनएसजेएफका अध्यक्ष सुवेदी र कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई चार बजाज पल्सर एनएक्स मोटरसाइकल, विभिन्न उपहार र नगदसहित रु २८ लाख ४० हजार उपलब्ध गराउनेछ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले एक÷एक थान पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु ५० हजारबाट पुरस्कृत गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिनुभयो । पिपल्स च्वाइस अवार्ड, पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधाका लागि मञ्चको छनोट समितिले पाँच÷पाँच खेलाडीको नाम सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस