कोइराला र विरहीलाई दधिराज पुरस्कार


यस वर्ष दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले कवि एवं गीतकार एसपी कोइराइला (शङ्कर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा निरन्तर योगदान पु¥याउने कोइरालालाई र रू २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७’ पाँच दशकभन्दा बढी समयदेखि पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिनुभएका वरिष्ठ पत्रकार विरहीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कार साहित्यतर्फको पुरस्कार प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल र डा विष्णुविभु घिमिरेलाई प्रदान गरिएको थियो भने पत्रकारितातर्फ हरिबहादुर थापा, शिवबहादुर कार्की, किशोर नेपाल र मोहन भण्डारीलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू १५ लाख अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने गरेको समालोचकका छोरा एवं पत्रकार शरदराज सुवेदीले जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आज सो निर्णय गरेको हो । गत वर्ष पुरस्कृत साहित्यकार घिमिरे र पत्रकार भण्डारीसमेतलाई कोभिड– १९ का कारणले सो वर्ष पुरस्कार समर्पण गर्न नसकिएकोमा यस वर्ष आगामी माघ महिनामा चार स्रष्टालाई समर्पण गरिने पत्रकार सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस