पूर्वप्रम भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता


जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले भेटवार्ता गरेको छ ।

अध्यक्ष भट्टराई निवास टोखामा आज भएको भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो ।

यस्तै उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

उपमन्त्रीले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताउनुभएको पूर्वप्रधानमन्त्री डा भट्टराईलाई उद्धृत गर्दै जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उहाँले उल्लेख गर्नुभयो । भेटमा उहाँले अध्यक्ष भट्टराईसँग नेपालचीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस