बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपालको संविधानमा विशेष अवस्थामा मात्र प्रतिनिधिसभा विघटनको व्यवस्था राखिएको बताउनुभएको छ । आजदेखि शुरु भएको राष्ट्रियसभाको आजको बैठकमा उहाँले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाबाटै सरकार गठनका विभिन्न विकल्प राखिएको बताउँदै पार्टीभित्रको समस्यालाई देशको समस्या बनाउन नहुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले आफ्नो पार्टीले यस विषयमा धेरै नबोल्ने उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरस सङ्क्रमणका क्रममा आर्थिक सङ्कटका अवस्थामा मध्यावधि निर्वाचन घोषणा हुनु मुलुकको हितमा नभएको बताउनुभयो ।
छिमेकी मुलुकबाट पछिल्लो समयमा भएको चलखेलले मुलुकको राष्ट्रियता बलियो नहुने पनि उहाँले बताउनुभयो । उहाँले सरकारले आफ्ना विपक्षी नेताको फोन ट्याप गर्न लागेको भनी आएको समाचारका सम्बन्धमा जवाफ माग गर्नुभयो ।

अध्यादेशमा संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राखिएको आरोप लगाउँदै उहाँले त्यसको खारेजीको माग गर्नुभयो । उहाँले उखु किसानका समस्याको दिगो समाधानका उपाय खोज्न सरकारलाई सुझाव दिनुभयो । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र जनस्रोत नीतिका बारेमा सबै दल र सरोकार पक्षसँग छलफल गरेर साझा धारणा बनाउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको कदम असंवैधानिक भएको जनाउँदै राष्ट्रपतिले यस विषयमा सुझबुझपूर्वक काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले प्रतिनिधि पुनःस्थापनाको माग पनि गर्नुभयो ।

किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको, मुलुकमा भ्रष्टाचार बढेको र संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको आरोप लगाउँदै उहाँले त्यसको खारेजीको माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस