वाग्मतीको मुहान क्षेत्रमा छाडियो ४०० माछाका भुरा


वाग्मती सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको नदी किनारमा ४०० माछाको भुरा छाडिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीले शहर र गर्दी जातिका ४०० माछाका भुरा छाड्नुभएको हो । माछाका भुरा केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुले उपलब्ध गराएको हो । केन्द्रका मत्स्य विकास अधिकृत सुभाषकुमार झा प्राकृतिक जलाशयमा फस्टाउने जातका माछाका भुरा नै वाग्मतीमा छोडिएको बताउनुहुन्छ । यी जातका माछा नेपालका प्रायः नदीमा पाइन्छ ।

यसअघि अधिकारसम्पन्न वाग्मती समितिको संयोजन एवं वाग्मती सुन्दरता सरोकार मञ्चलगायत संस्थाको आयोजनामा सु्न्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयअघिको पुलमुनिको नदी किनारमा सफाइ गरिएको थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकारसम्पन्न वाग्मतीका कर्मचारी र स्थानीयवासी गरी करिब २०० को सहभागिता थियो । कुहिने र नकुहिने फोहर वर्गीकरण गरी नगरपालिकाले व्यवस्थापन गरेको थियो । सफाइका अवसरमा नदी किनारमा सिसासमेत जथाभावी फालेको पाइएको छ ।

सफाइ एवं माछा छाड्न आयोजित कार्यक्रमपछिको सभालाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री मानन्धरले राजधानीको सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती नदी र यसका किनारका धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबै तहका सरकार एवं स्थानीयवासीको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । धार्मिकरूपमा महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरको संरक्षण गर्न सरकारका तर्फबाट आवश्यक सहयोग गरिने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले उपत्यकाका नदी किनारको अव्यवस्थित बस्ती हटाउन भूमि समस्या समाधान आयोगलगायत सरोकार भएका निकायको समेत सहयोग लिएर काम गर्न लागिएको बताउनुभयो । वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले अधिकारसम्पन्न वाग्मती समितिले कार्यक्रम गर्दा सबैसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिकारसम्पन्न वाग्मती समितिका वरिष्ठ डिभिजनल इञ्जिनीयर रवीन्द्र रायलगायतले सफाइका भावी कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ, सम्पदास्थललगायत सार्वजनिक स्थानमा सफाइ अभियान चलेको छ ।

उपत्यकाबाहिर पनि मुख्य शहर एवं नदी किनारलगायत सम्पदास्थलमा पनि सफाइ अभियान शुरु भएको छ । हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । सफाइ महाअभियान जाडो, गर्मी, शीत, वर्षा, चाडपर्व, भूकम्प, कोरोना महामारीकाबीच पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर निरन्तररूपमा सञ्चालन हुँदै आएको छ । सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेको अवसरमा आज मीनभवन पुलस्थित वाग्मती परिसरमा पनि सफाइसहित विशेष कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस