पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा होः मन्त्री किराती


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे ।

मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको र पर्यटकको सुरक्षाका साथसाथै देशको कानुनअनुसार पर्यटकले गर्ने गतिविधिका बारेमा सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र समृद्ध समाज निर्माण गर्न सबै आबद्ध सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद तथा प्रशंसापत्र प्रदान गरे । उनले पर्यटक प्रहरीले लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सेवा, सुविधा र गुनासो व्यवस्थापनका लागि गर्दै आएको कार्य सराहनीय रहेको बताए ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्ले, होटल व्यवसायी सङ्घ नेपालका अध्यक्ष विनायक शाह, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढालगायतले पर्यटक प्रहरीको भूमिकाबारे आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस