पहाडको टुप्पोमा अचम्मको बाजा बज्ने ढुङ्गा ! (तस्विर सहित)


ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ ।

ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुङ्गाको अवलोकनमा पुग्नुभएका बेनीका गोरखनाथ सुवेदीले बताउनुभयो । “ढुङ्गाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला ? भन्ने लागेको थियो तर, साँच्चिकै दुरुस्तै सुनियो, यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरुको ओइरो लाग्ने सम्भावना छ” – सुवेदीले भन्नुभयो । यो ढुङ्गामा पुग्न बेनी–जोमसोम सडकखण्डले समेटिएको काभ्रे गाउँदेखि करीब पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ ।

छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय रीता बरुवालले बताउनुभयो । “बाजा बज्ने ढुङ्गा खोज्दै कहिलेकाहीँ पर्यटकहरु आउने गर्छन्, थोरैैलाई यस ढुङ्गाकाको आश्चर्यबारे जानकारी छ, यहाँसम्म पुग्ने सहज पदमार्गको व्यवस्था र बाजा बज्ने ढुङ्गाको प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढाउन सकिने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार, यस ढुङ्गामा खडेरी परेर पानी नपरेको समयमा स्थानीय बासिन्दाले पूजा गरी ढुङ्गा बजाएर पानी डाक्ने चलनसमेत रहेको छ । ढुङ्गाको बाजा बजाउँदा पानी पर्ने मान्यताले वर्षातको समयमा यस ढुङ्गामा स्थानीय बासिन्दाले बाजा बजाउँदैनन् ।

बाजा ढुङ्गामा जाने पर्यटकहरु यस ढुङ्गाको अलौकिक कला र सङ्गीतबाट अचम्भित हुने गरेका छन् । प्राकृतिक भ्युटावरको रुपमा रहेको यस ढुङ्गाको टुप्पोमा पुगेर प्राकृतिक भू–बनोटको अवलोकनमा समेत उनीहरु रमाउने गर्छन् । ढुङ्गाका बाजा बजाउन जानेहरुको लागि अहिले गाउँदेखि माथि जङ्गलसम्म सहज हिँड्डुल गर्ने बाटो भए पनि बाजा बज्ने भिरमा पुगेपछि भने साँघुरो डोरोमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु जोड्ने गरी पूर्वाधार निर्माण र प्रचारप्रसारमा वडा कार्यालयले जोड दिएको छ । नौमती बाजाको आकार रहेका चुचुरा बजाउँदा बाजाको आकार अनुसारकै आवाज निस्कने बाजा ढुङ्गा सङ्कटमा परेको छ । ढुङ्गाको अवलोकनमा जाने स्थानीय बासिन्दा र पर्यटकहरुले समेत ढुङ्गाले जोडले आवाज निस्कने ठाउँमा प्रहार गर्दा बाजाका आकृतिहरु मेटिँदै जान थालेको छ । पहिले सबै बाजाको वास्तविक आकार भए पनि अहिले बजाउँदै जाँदा सबै बाजाका आकृतिहरु भाँचिन थालेका हुन् । दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने भए पनि अन्य बाजाका आकृतिहरु भाँच्चिएको स्थानीय बासिन्दाको भनाइ छ ।

बाजाढुङ्गाको संरक्षण र पर्यटन पूर्वाधार निर्माणका लागि स्थानीय बासिन्दाले निरन्तर माग गरे पनि कुनै पनि निकायबाट सम्बोधन नभएको स्थानीय अगुवा सुनबहादुर विश्वकर्माले बताउनुभयो । समयमै नौमति बाजा ढुङ्गाको संरक्षण नगर्ने हो र जथाभावी बजाउन दिने हो भने कुनै समय यो ढुङ्गाको अवशेष समेत मेटिने खतरालाई स्थानीयवासी औँल्याउँछन् । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत काभ्रे गाउँ ‘लुकेको हीरा’ नामले चिनिन्छ । वर्षेनी गाउँ हुँदै हजाराँै पर्यटकहरु ओहोरदोहोर गर्ने भए पनि यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकास र प्रचारप्रसार नहुँदा यस गाउँले पर्यटनमार्फत लाभ लिन सकिरहेको छैन ।

धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजीकको दूरीमा छन् । रुप्से झरना र अन्ध गल्छीमा सामान्य पर्यटन पूर्वाधार बने पनि बाजाढुङ्गा भने सरोकारवालाको नजरमा पर्न सकेको छैन् । तीन वटै पर्यटकीय स्थललाई जोडेर काभ्रेमा होमस्टे सञ्चालन गर्न सके यस क्षेत्रले पर्यटन विकासमार्फत मुहार फेर्न सक्ने सम्भावना रहेको स्थानीय अगुवा विश्वकर्माले बताउनुभयो । प्रकृतिको बरदानको रुपमा रहेको बाजा ढुङ्गाको किंवदन्ति निकै रोचक छ ।

परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमति बाजा बजाउनेहरुले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान् प्रशन्न भएर उनीहरलाई वर माग्न लगाएका रहेछन् । बाजा बजाउनेहरुले सुनको बर मागे बमोजिम भगवान्ले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन सुकाइदिएछन् । खोला सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरुलाई बञ्चरोले सुुनको ढिकमा एक पटक हान्नू र जति आउँछ त्यति लगेर जानू भन्ने आदेश दिएछन् । खोला सुकेपछि बाजा बजाउनेहरुले एकपटक बञ्चरोले हानेछन् ।

त्यसो गर्दा सुनको सानो चोइटा आएछ । सुनको चोइटा सानो भएपछि उनीहरुले खोला सुकेको मौकामा पुनः अर्को पटक पनि बञ्चरोले हाने । यस पटक भगवान् क्रोधित भए र रुप्से खोलामा भीषण बाढी आयो । बाढीले त्यहाँ भएका सबै बाजा बजाउनेहरुलाई बगाएको र त्यहाँ रहेका नौमति बाजा भने यसै ढुङ्गामा बाजाको आकृतिमा बदलिएको मान्यता रहेको छ । रासस

०००

यो पनि

यी राजाले देशमा ८२ वर्षसम्म शासन गर्दा १२५ श्रीमती बिहे गरे, छोराले नै गरे १५ श्रीमती बिहे

एजेन्सी । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् ।

उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् । इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए ।

उनले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटनको क्रममा इस्वातिनी नाम प्रयोग गरेका थिए । केही मानिस भने राजाले देशको नाम परिवर्तन गरेकोमा बेखुस छन् । उनीहरुले राजाले आफ्नो ध्यान देशको अर्थ व्यवस्था मजबुद बनाउन लगाउनु पर्ने न कि नाम परिवर्तनमा भन्ने गरेका छन् ।

सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । औपचारिक रुपमा उनको बायोग्राफी लेख्ने व्यक्तिका अनुसार राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।

स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् ।

०००

यो पनि

आखिर किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो रहेछ रहस्य!

एजेन्सी । उल्टो झुन्डिएर बस्ने प्राणीको नाम चमेरो हो भनेर सामान्यतया सबैलाई थाहा नै छ । झुण्डीरहने भएर चमेरोले सजिलैसँग उडान लिन सक्छ । चमेरोले अन्य पन्क्षिहरु जस्तो जमिनबाट उड्न सक्दैन । प्वाखले भरपुर उठान दिन नसक्ने भएकोले जमिनबाट उड्न चमेरोलाई निकै गार्हो हुन्छ । साथै चमेरोको पछाडिको खुट्टा छोटो र अविकसित हुने गर्दछ । जसले गर्दा दौडेर गति लिन सक्दैन । सामान्यतया चमेरोहरु दिउसोभरि आराम गर्ने गर्छन र रातिको समयमा भोजनको तलासमा हिड्ने गर्छन् ।

यो एक मात्र स्तनधारी प्राणि हो जुन उड्न सक्छ । चमेरोको पनि करीब १,००० प्रजाति रहेका छन् । यो प्राणीले किरा, माकुरा, फल, माछा र जनावरको रगत खाने गर्दछन् । चमेरो २० वर्ष भन्दा धेरै बाच्ने गर्दछ । चमेरोको प्रजाति मध्ये पेटेरपस चमेरो सबैभन्दा ठुलो हुन्छ । चमेरोको सबैभन्दा ठुलो गुफा टेक्सासमा रहेको छ । जहाँ करिब २ करोड भन्दा धेरै चमेरो रहेका छन्।

प्रतिक्रिया दिनुहोस