‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो, अब अर्को छोरा पनि बाँच्दैन! किनकी उनीहरू छुट्टिनै नसक्ने थिए’


चिनको वुहानबाट सुरु भएको भनिएको कोभिड-१९ को महामारीले यति बेला कुनै पनि देश चोखो बसेको छैन । पछिल्लो समय भारतमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको लप्का नेपालमा समेत आइसकेको अवस्था छ ।

भारतमा दैनिक लाखौको संक्रमण पुष्टि भइरहेको छ भने हजारौको मृत्युको खबर आइरहेको छ । मृत्यु हुनेहरु मध्य मिरूतका जुम्ल्याहा दाजुभाई भारतीय संचार मध्यममा छाएका छन । सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलका दुई छोरा पनि कोरोनाको सिकार बन्न पुगे ।

खुसि खुसि २४ औ जन्म दिन मनाएका उनीहरुलाई कोरोना संक्रमण भएको थियो । गत अप्रिल २४ तारिखका दिन उनीहरुलाई ज्वरो आएको थियो । उक्त ज्वरो नघटे पछी अस्पताल लादा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारमा राखे पनि जुम्ल्याहामा कोरोनाको ठुलो असर देखियो । आनन्द अस्पतालको कोभिड वार्डमा उनीहरूको उपचार भएको थियो । शरीरमा अक्सिजनको मात्र अत्यन्तै घट्न गयो र अन्तत उनीहरुको केहि घण्टाको अन्तरमा गत मे १३ तारिख मृत्यु भयो ।

सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी जुम्ल्याहा छोराको २०२१ मा केहि घण्टाको अन्तर मै मृत्यु भयो । जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

तर दैवको लिला आमा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो। बुबा राफेल भन्छन – ‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो- अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए ।’ अन्तत बुबाको भनाई सत्य साबित भयो । एक छोरा बितेको केही घन्टा नबित्दै अर्का छोराको पनि मृत्यु भयो।

०००

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ ।

गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् ।सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार ३२९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ ।

मंगलबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७८ हजार ७१९ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५२ लाख २८ हजार ९२९ पुगेको छ ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।

०००

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

सोमनाथ लामिछाने

काठमाडौ, ४ जेठ (रासस)।गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाई छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो ।

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि “भूमि कब्जा गर्न खोजेको” भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो ।

यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमास विरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाई छ ।

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठूलो पारिवारिक क्षति व्यहोर्नु परेको थियो । उहाँले भन्नुभयो, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।” यो त प्रतिनिधि घटना मात्र हो । गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनु भएको छ । यस पटकको आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ ।

सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भिषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए । दुबै पक्षबीच युद्धबिराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले हालको युद्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिनु भएको छ । त्यसैले तत्कालै युद्धबिराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाईमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ ।

दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भएपनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहूले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशंका गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकू बिमान प्रयोग गरी गाजाका ३५ ठाउँमा बम हमला गरेका थिए । सेनाको भनाईमा यी हमलाहरु खासगरी हमास र इस्लामिक लडाकू विरुद्ध केन्द्रित छन् तर यी आक्रमणमा मारिनेहरु ज्यादातर महिला, बालबालिका र अरु सर्वसाधारण छन् । केही लडाकूहरु पनि मारिएका खबर सार्वजनिक भइरहेका छन् ।

इजरायली आक्रमणको प्रतिरोध गरिरहेका हमास लडाकूहरुले दक्षिणी इजरायली भूमिमा लगातार क्षेप्यास्त्र प्रहार गरेर परिस्थितिलाई अझ उत्तेजित बनाएका छन् । यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजार भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्तराज्य अमेरिकाले शान्त, व्यापक कुटनीतिक प्रयास जारी राखेको तथा आफूहरुले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले द्वन्द्वका बारेमा आफूहरुले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरु गरिरहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै युद्धबिराम गर्न आग्रह गर्नु भएको छ । तर राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहूले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आतंकवादी हमलाको प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ताकि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाउन् ।

इजरायल र प्यालेस्टिनीको विवाद आआफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मेटाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ । अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौंदेखिको यो द्वन्द्व सम्भवत समाधानतर्फ उन्मूख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती बिस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा लडाकू समूहको उदयले द्वन्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ । बरु, इजरायल र हमासले एकअर्का विरुद्ध गरिरहेका जथाभावी हमलाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहोस