नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा


चितवन, २५ असार (रासस) : भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।

गाई काट्ने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए । गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो ।

यो पनि – पालिकाको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिने

गण्डकी, २५ असार (रासस) : गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनुभयो । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।

उहाँका अनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो । प्रदेशभरका जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धार, राहत तथा पुनःस्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस