स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा


वालिङ, २५ असार (रासस) : यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्नुभएको हो ।

सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो । दुवै जनाले मालपोत कार्यालय स्याङ्जाबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरिदिएर सहयोग गरेकामा पोख्रेल परिवारप्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

“दाताहरुले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकालाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएकामा आभार व्यक्त गर्दछु”, नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”

सबैलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सकेमा सानो उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास वडाध्यक्ष ओमबहादुर खड्काको छ । दाताहरुबाट प्राप्त जग्गामा छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उहाँको भनाइ थियो ।

स्वास्थ्यजस्तो संवेदनशील संस्था गाउँ ठाउँकै नजिकै भए कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाताद्वयले बताउनुभयो ।

यो पनि – खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ, २५ असार (रासस) : भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा हालसम्ममा पुनःनिर्माणतर्फ नौ हजार ६८ र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता गरिएकामध्ये हालसम्म पुनःनिर्माणतर्फ नौ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोस्रो किस्ता बुझेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फ नौ हजार ६८ घर र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोस्रो किस्ता र ७१० लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् ।

कूल लाभग्राहीमध्ये पुनःनिर्माणतर्फ २४२ र प्रबलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको जनाइएको छ । निजी आवास पुनःनिर्माणका क्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै दोहोरो भुक्तानी लिएका तीन लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको रु ६० लाख अनुदान फिर्ता गरिएको जनाइएको छ ।

पुरानो प्रावधानअनुसार प्राधिकरणबाट १७ र हालको प्रावधानअनुसार ५१३ लाभग्राहीलाई प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । भूमिहीन लाभग्राही पाँचमध्ये चार जनालाई जग्गा खरिदका लागि रु दुई÷दुई लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ जनासँग सम्झौता गरिएको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिइएको छ । थप भएको म्याद गत वैशाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशतमात्र प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले जानकारी दिनुभएको छ ।

पुनःनिर्माणअन्तर्गत हाल जिल्लामा तीनवटा गुम्बा पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित थेकछोक मेन्ट्रोल साम्ताङ छोलिङ गुम्बा र ऐँसेलुखर्क गाउँपालिकास्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस