भानुभक्तलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी


भानुभक्त आचार्यलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी रहेको कविहरुले बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित ‘धुनमा कविता’ कार्यक्रममा भानुभक्तले आफ्ना सिर्जनाबाट प्रस्तुत गरेका सबै विषय महत्वपूर्ण भएको बताएका हुन् । कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नेपाली भाषाको प्रचारप्रसार र महत्वमा भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । भानुभक्तलाई आदिकवि मात्र नभएर आदि व्यङ्ग्य कविका रूपमा परिचित गराउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । मङ्गलबार बगरस्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशका १२ जिल्लाका १२ कविले कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रममा कास्कीका शिव त्रिपाठी, लमजुङका सरस्वती श्रेष्ठ ‘सरु’, कास्कीका छन्दकवि शङ्करमणि त्रिपाठी, लमजुङका कुमार तामाङ, कास्कीका लक्ष्मी थापा, तनहुँका अम्बिकाप्रसाद भट्टराई, गोरखाका लोकनाथ पुडासैनी, पर्वतका डा जगन्नाथ रेग्मी, स्याङ्जाका डा नारायणप्रसाद अधिकारी र सुदर्शन पौडेलले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ बिम्ब कवि रमेश श्रेष्ठले समेत कविता प्रस्तुत गर्नुभएको थियो । कवि श्रेष्ठले अहिले राष्ट्रियता कमजोर बन्दै गएको र कमजोर बनाउने तत्व हामी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले हाम्रा कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । राजनीति र भाषा साहित्यलाई हामीले बुझेनौँ, भानुभक्तका पथमा हिँडेनौँ ।” उहाँले स्रष्टाहरुको सोच बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित धुनमा कविता प्रतिष्ठानको पहिलो कार्यक्रम भएको जनाउँदै आगामी दिनमा प्रदेशका वाङ्मयिक क्षेत्रको विकास र हितका निम्ति सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चलचित्रकर्मी प्रकाश घिमिरे, गीतकार दुर्गा शाह बाबा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, सङ्गीतकर्मी र कलाकर्मीहरुको उपस्थिति रहेको सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

यो पनि – आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती: जन्मथलोमै उपेक्षित भानुभक्

आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उहाँको जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन । सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकोमा स्थानीयवासी खुशी छैनन् । भानुजयन्तीको दिन औपचारिकता निभाउने बाहेक यस ठाउँमा अन्य कुनै कार्यक्रम आयोजना भएका छैनन् । भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि विसं २०५२ मा भानु जन्मस्थल विकास समिति गठन गरे पनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन नहुँदा देखिनेगरी काम हुन नसकेको स्थानीयवासी रिदम आचार्यले बताउनुभयो । नजिकैको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको उहाँको गुनासो छ । “अहिले त अझ जन्मस्थल समितिविहीन अवस्थामा पुगेको छ, देश तथा विदेशमा भानुभक्तको चर्चा छ, तर आफ्नै जन्मथलोमा उपेक्षा बाहेक अरु केही छैन”, उहाँले भन्नुभयो ।

साहित्यिक पर्यटकीय विकासको सम्भावना बोकेको भानुभक्तको जन्मस्थललाई राजनीतिबाट टाढा राख्न सक्नुपर्ने स्थानीयवासी एवं भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्यले बताउनुभयो । “एउटा सरकार हुँदा गरेको निर्णय अर्को सरकार आएपछि प्रभावित हुन्छ, त्यही कारण आजसम्म यस ठाउँको विकास हुन सकेको छैन”, उहाँले भन्नुभयो । भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाटले गत वर्षदेखि जन्मस्थल विकास समितिलाई कुनै पनि बजेट विनियोजन नभएको जानकारी दिनुभयो ।

“पहिला सङ्घीय सरकार मातहत रहेको जन्मस्थल गत वर्षदेखि स्थानीय सरकार मातहत राखियो, त्यसभन्दा अगाडि आउने बजेट पनि कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले त झन् बजेट नै छैन,” उहाँले भन्नुभयो । उहाँले शुरुमा जति महत्वका साथ समिति गठन गरिएको थियो सरकारले चासो नदिएपछि समितिले काम गर्न नसकेको बताउनुभयो । “बजेट अभावले नै केही काम गर्न सकिएन, आएको थोरै बजेट कर्मचारीको तलब भत्तामै सकिन्छ, कर्मचारीले तलबबापतको रु ४५ लाख अझै पाएका छैनन्”, उहाँले भन्नुभयो ।

घर निर्माणले गति लिएन

भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नहुँदा बेवारिसे अवस्थामा पुगेको छ । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो । विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।

भानृ गृह करीब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो ।

जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजना अनुसार भानुभक्तको घर दुई तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्ग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, होमस्टे, धर्मशाला, सङ्ग्रहालय, भ्युटावर, चौतारीलगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । रासस

यो पनि – कसैले सम्झेनन् भानुभक्तलाई

रामबहादुर थापा,आज २०८औँ भानुजयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्झनामा यसपालि यहाँ कुनै कार्यक्रम÷समारोह भएनन् । राष्ट्रिय विभूतिसमेत रहनुभएका भानुभक्तको जन्मजयन्ती यसै बित्यो । विसं २०५२ देखि धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले विविध कार्यक्रमसहित भानु जयन्ती मनाउँदै आएको थियो । यो वर्ष प्रतिकूल परिस्थितिका कारण केही गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

कोरोना महामारीको जोखिमका कारण स्थानीय प्रशासनले सार्वजनिक समारोह आयोजनामा रोक लगाएको छ । अघिल्लो वर्ष भने प्रतिष्ठानले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भानु जयन्ती समारोह आयोजना गरेको थियो । “समय पनि यस्तै छ, कोरोना कारणले भानु जयन्ती मनाउन सकिएन”, प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । उहाँले आगामी वर्षदेखि भानु जयन्ती समारोहलाई निरन्तरता दिइने बताउनुभयो । प्रतिष्ठानले सोही अवसर पारेर ‘बम–सरस्वती स्मृति पुरस्कार’ समेत प्रदान गर्दै आएको थियो । बागलुङ नगरपालिका–३ स्थित प्रस्तावित भानु उद्यानमा भेला भई स्रष्टाहरु स्थलगत कविता, भानु चित्र लेखन र वाचनमा भाग लिन्थे । वाङ्मयप्रेमीहरु रुचीपूर्वक भानु जयन्तीमा सहभागी हुन्थे ।

प्रतिष्ठानमात्रै होइन यहाँका अन्य कुनै पनि संस्थाले यो वर्ष भानुभक्तलाई सम्झेनन् । यसअघि काठेखोला गाउँपालिका–४ तङ्ग्रामलगायतका ठाउँमा भानु जयन्ती मनाउने चलन थियो । कतिपय विद्यालयले समारोहको आयोजना गर्थे । वर्सेनि भानु जयन्तीमा सहभागी हुँदै आउनुभएका साहित्यप्रेमी प्रकाश बरालले कार्यक्रम आयोजना नहुँदा खल्लो लागेको सुनाउनुभयो । “सधँै भानु जयन्तीको खबर आउँथ्यो, यसपालि त केही अत्तोपत्तो पाइएन”, उहाँले भन्नुभयो ।

भानुभक्तको सम्मानमा उद्यान निर्माण गर्ने, सालिक राख्नेलगायतका योजना प्रतिष्ठानले अघि सारेको छ । विसं १८७१ असार २९ मा तनहुँको चुँदी रम्घामा जन्मनुभएका भानुभक्तले बाल्मिकी रामायणलाई नेपाली भाषामा भावानुवाद गर्नुभएको थियो । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेको ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । भानुभक्तका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ लगायत रचना प्रसिद्ध छन् । नेपालमा भाषिक एकताको श्रेय उहाँलाई नै दिने गरिन्छ ।

‘घाँसी’ कवितामा भानुभक्त लेख्नुहुन्छ

भर्जन्म घाँसतिर मन् दिई धन् कमायो

नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन आज यस्तो ।

-रासस

प्रतिक्रिया दिनुहोस