छ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट


देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याजेक अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।

अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ ।सातसय दुई स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।
यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म पाँच हजार २६४ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्ये चार हजार ६४० विद्यालय र चार हजार १२२ स्वास्थ्य संस्थामध्ये तीन हजार ६५१ संस्थामा इन्टरनेट जडान भइसकेकोे छ ।सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म छ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रोचरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।

कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म रु तीन अर्ब ३८ करोड ८७ लाख ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।उक्त परियोजनामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन् ।रासस

यो पनि -डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई फाराम बुझाएको तीनदिनसम्म पनि खाता नं पाउन नसकेको गुनासो गर्नुहुन्छ ।

कार्कीजस्तै सयौँ सेवाग्राही लिमिटेडमा समयमा काम नहुने गरेको दुःखेसो पोख्छन् । कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने र मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेका छन् । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इसारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीको गुनासो छ ।ब्रोकरले सेवाग्राहीसँग काम लिन लिमिटेडका कर्मचारीलाई प्रभावमा पारेर एकाधिकार जमाएको डिम्याट खाता नं लिन तीन दिनदेखि धाउनुभएका समरबहादुर श्रेष्ठको गुनासो छ । मालपोत, यातायातलगायत सरकारी कार्यालयमा जस्तै लिमिटेडले पनि दलालमार्फत् काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको उहाँको भनाइ छ ।

लिमिटेडका सूचना अधिकारी सिर्जना बाँस्कोटा भने केही दिनअघिसम्म टोकन दिएर सेवाग्राहीलाई कार्यालय छिराएर सेवा दिएको दाबी गर्नुहुन्छ । कोरोना जोखिमका कारण टोकन पनि दिन बन्द गरेको उहाँको भनाइ छ । सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा पाउँदैनन् । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत दिँदैनन् । पैसा फाराममै ‘स्टिच’ गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यसो गर्दा सेवाग्राहीको फाराम हराएमा दाबी गर्न उसँग कुनै प्रमाण हुँदैन ।

कार्यालयको यस्तो बेथितिका विषयमा कर्मचारीसँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुने गरेको दुःखेसो सेवाग्राहीको छ । कार्यालय परिसरमा कतै नागरिक बडापत्रसमेत भेटिँदैन । एउटा खाता नं लिनकै लागि सेवाग्राही हप्ता दिनसम्म धाउनुपर्ने वातावरण कार्यालयमा बनाइएको छ । सूचना अधिकारी बाँस्कोटा भने सेवाग्राहीले फाराम पेश गरेको आधा घण्टादेखि एक घण्टाभित्रमा खाता नं दिने गरेको दाबी गर्नुहुन्छ । मेरो शेयर फारम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि लामो समयदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई सेवा दिने बताउनुहुन्छ । रासस

यो पनि – बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो । उहाँले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गर्नुभयो ।

बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ ।

त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । रासस

यो पनि – मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

मेलम्ची, १७ साउन (रासस) :सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिनुभयो । पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो । गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

यो पनि – मेलम्ची खोलाको मुहान गेग्य्रान बग्दा सिन्धुपाल्चोकमा ठूलो क्षति

मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको प्रस्ट्याउने आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले निष्कर्ष छ ।

उहाँहरूका अनुसार अहिले नै खास कारण भन्न किने अवस्था छैन तर पनि मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ ।  आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आज भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आज अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटा पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको छ । उहाँ त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्नुहुन्छ । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान गर्नुहुन्छ । उहाँले भन्नुभयो, “घर बनाउँदा प्रयोग हुने गिट्टी, बालुवा मिसाएको घोल जस्तै निस्किएको देखियो, त्यो घोल बगाउँदा त्यसले गर्ने क्षति बढी हुन्छ, हेलम्बुमा अहिले त्यही देखिएको छ, मेलम्चीमा दुई खोलाको बहाव रोकिँदा बजार क्षेत्रमा ठूलो क्षति भएको हो ।” उहाँले यो अझै दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहो¥याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताउनुहुन्छ । अध्ययन बाँकी नै रहेको बताउँदै उहाँले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताउनुभयो । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेल हिमालय क्षेत्रकै यो निकै ठूलो क्षति भएको बताउनुभयो । यसले मेलम्ची र हेलम्बुमा मात्रै होइन दोलालघाट तथा तल्लो क्षेत्रमा समेत प्रभाव पारेको छ । उहाँले हेलम्बु र मेलम्चीमा भारी वर्षापछि आएको बाढी र क्षतिबारे विशेषज्ञ टोलीसहित स्थलगत अध्ययन गरिरहेको जानकारी दिनुभयो । आज हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । अहिले पनि ठूलो मात्रामा झरिरहेको छ । त्यही बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति हुन पुगेको र अझै क्षति हुने अनुमान गर्न सकिने देखिएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थान प्राडा विष्णु पाण्डे अझै कारण के हो भनेर यकिन भन्ने नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रारम्भिक चरणको अध्ययनअनुसार सेटेलाइटबाट पाएको तथ्याङ्कमा थोरै समयमा अत्यधिक पानी परेर बाढी ल्याएको भने नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि त्यसरी अत्यधिक पानी परेर ठूलो बाढी आएको हो भन्ने देखिँदैन, हिमताल फुटेर आएको हो कि भन्ने अनुमान पनि गर्न सकिँदैन, पहिरो खसेर थुनिएको र त्यसपछि आएको भन्ने पनि देखिँदैन, ठूलो मात्रामा पानी थुन्न सक्ने अवस्थासमेत नदेखिँदैन । निकै भिरालो ठाउँमा पानीको फोर्स बढी हुँदा दुई छेउमा कटान भएको र जमेको क्षेत्र पनि बगाउँदा बढी क्षति भएको उहाँको प्रारम्भिक निष्कर्ष उहाँको छ ।

अर्का विज्ञ वसन्त अधिकारी जमेको माटो बिस्तारै पानीले खोलेर ऊर्जा बढाएको र त्यसले कटान बढाउँदै वरिपरिको क्षेत्र खसालेर शक्ति पैदा गरेको देखिने सुनाउनुहुन्छ । उहाँले माथिबाट सामान्य रूपमा शुरु भए पनि इनर्जी बढेर तल काट्दै आएको र गेग्य्रानसहित मिसिएर बाढीमा परिणत भएको बताउनुभयो । त्यहाँका प्रदेश सांसद निमा लामा माथिको कारण पत्ता नलागेसम्म समस्या समाधान गर्न नसकिने भएकाले तत्कालै अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विज्ञहरूलाई तत्काल अध्ययन गरेर कारण खोज्न पनि अनुरोध गर्नुभयो । आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बैठक बसेर आवश्यक खोज उद्धार प्रभावकारी बनाउन निर्देशन दिएको थियो । बैठकमा गृहमन्त्री खाँडले आवश्यक साधन स्रोतका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस