ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’


गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना÷सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गर्नुभएको हो । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएपछि गायक सपुत उत्साहित हुनुहुन्छ । उहाँले गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई उठान गरेको बताउनुभयो । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त उहाँको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो । उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म युट्युबमा ८६ लाखभन्दा बढी पटक हेरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन् ।

गायक सुपत र गायिका शान्तीश्री परियारद्वारा स्वरबद्ध ‘गलबन्दी’ले त हालसम्म चार करोड ७१ लाखभन्दा बढी भ्यूज पाएको छ । तीज पर्व नजिकिएसँगै तीजका भाका युट्युबमा छाउन थालेका छन् । अडियो क्यासेट, सिडीको जमाना गएपछि सङ्गीतकर्मीलाई युट्युब माध्यम निर्विकल्प बनेको छ । म्युजिक भिडियोले पाउने चर्चा र भ्यूजका आधारमा कलाकारले युट्युबबाट पैसा आर्जन गर्छन् ।

यो पनि – प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको थियो ।

यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १६१ लाई कारवाही गरी रु १६ हजार जरिवानासमेत गरिएको जनाइएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने तीन हजार ७१७ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको १४६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १४ हजारभन्दा बढीलाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार काठमाडौँ उपत्यकामा ९५१ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । मुलुकभर गरेर दुई हजार ५४५ मा सङ्क्रमण भएको छ । आइतबारको २४ घण्टामा केही साताकै उच्च ५५ जना सङ्क्रमितको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भई निको हुने दर ९३ दशमलव छ प्रतिशत छ । हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोना जितेका छन् ।

यो पनि – महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८÷७९ मा बालबालिकालाई लक्षित गरी रु ९० लाखको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ । कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ ।

बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ । बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गर्नुभएको छ । “पहिलो चरणको कोरोनाको सङ्क्रमण हँुदा पूर्वसतर्कता अपनाइँदा प्रदेशका ५८ नागरिकको मात्रै ज्यान गएको थियो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा कम तयारी हुँदा ५२० ले ज्यान गुमाए । त्यसमा अधिकांश युवा रहेका थिए । तेस्रो चरणमा मानवीय क्षति रोक्नका लागि पूर्वतयारीमा लागेका छौँ ।” त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एकएक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको उहाँले बताउनुभयो । महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शय्या थप गरिएको छ ।

सरसफाइ शुल्कमा कटौती

भीमदत्त नगरपालिकाले सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ । नगरवासीबाट लिँदै आएको सरसफाइबापतको शुल्क नगरपालिकाले चालु आवदेखि कटौती गरेको हो । नगरपालिकाले ब्रह्मदेव गड्डाचौकी क्षेत्रमा वार्षिक दुई हजार ६४० (मासिक २२०) शुल्क लिँदै आएकामा चालु आर्थिकमा घटाएर रु एक हजार २०० बनाएको छ । महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा प्रतिघरबाट वार्षिक रु दुई हजार ६४० शुल्क लिइँदै आएको चालु आवमा घटाएर रु एक हजार ५०० राखिएको छ । नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले सरसफाइ शुल्कबापत घरबाट दैनिकरूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उहाँको भनाइ छ । नगरपालिकाले गत आवमा करिब रु २३ करोड आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस