विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले युवालाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएका विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
“युवाको क्षमता अभिवृद्धि तथा विकासमा लगानी गर्ने सरकारको विशेष प्राथमिकता हो”, सचिव मरासिनीले भन्नुभयो, “यो कार्यक्रमले मुलुकभर कोरोनाका कारण उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित भएकालाई पुनः शिक्षासँग जोडिनलाई मद्दत गर्नेछ ।” विश्व बैंकका देशीय निर्देशक फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँचयोग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको भन्दै कार्यक्रमले नेपालको पुनरुत्थानशीलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कारोनाका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएकालाई पुनः जोड्नुपर्ने उल्लेख गर्नुभयो ।
यसैगरी कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो छात्रवृत्ति विशेषगरी पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने बताइएको छ ।
यो पनि -बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने
राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताउनुभयो ।
प्रशासक पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ सम्बन्धी सम्झौता भएको थियो । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको छ । व्यक्तिको जन्म मिति र पोलिसी नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षासमेत प्रदान गर्दछ ।
यो पनि – नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु एक अर्ब १६ करोड ५२ लाख ४० हजार ३८७, नेशनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३२० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख सात हजार २२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए ।
यस्तै एचआडसिए, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको छ ।
यो पनि – पछिल्लो २४ घन्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु
काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,९४६ पीसीआर र ४,४९२ एन्टीजेन परीक्षणमा ३,०७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ७८ हजार ३७७ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – कोरोना कहरकाबीचमा पनि मर्दी पदयात्रा मार्गको स्तरोन्नति
गण्डकी, ३ भदौ (रासस) ः मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् ।छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नति अन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यु प्वाइन्टसम्म चार हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।
त्यस्तै पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी चार हजार किलो तौलको फलामबाट ठाउँ ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएको बताउँदै उहाँले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइँमा परेको बताउनुभयो ।
प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको बताउनुभयो । गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्ीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने र चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङगापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्न सकिन्छ ।
चाँडै नै कोरोनाको कहरको अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा एवं विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमले बताउनुभयो । उहाँका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अष्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फोरेष्ट क्याम्प, बादलडाँडा, मर्दीहाइक्याम्प हुँदै भ्युप्वाइन्टसम्म लगभग १०० वटा होटेल रहेका छन् । यस क्षेत्रको पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सर्वप्रथम यस क्षेत्रका लगभग ४०० व्यवसायी तथा मजदुरलाई कोरोना विरुद्धको खोप लगाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।
नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जङ्गलैजङ्गलबीच हिँड्ने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता रमणीय हुने यहाँका होटल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार पदयात्रा गर्दा सुरूमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायतका पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सीज एशोसिएशन नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताउनुभयो ।
कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पु¥याउने बताउँदै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदुरलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक समेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटेल निर्माणले गति लिएको हो । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।
समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरूमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । प्रकृतिमा आधारित पदमार्गका रुपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यु प्वाइन्टसम्म चार हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदिको निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।
कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउनका लागि नेपाल पर्यटन बोर्ड र युनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी पनि गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेशामा टिकाइ राख्नका लागि उनीहरूलाई विग्रेभत्केका पदमार्ग मर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पु¥याउने लगायतका योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेशामा टिकाउनु आवश्यक भएको बताउँदै उहाँले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया