काठमाडौँ, १० भदौ (रासस) : कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा रु एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७÷७८ मा कूल रु एक खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो । यस अघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी रु एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको छ । सो शीर्षकमा रु एक खर्ब ६ अर्ब ९८ करोड बराबरको कर्जा उपलब्ध भएको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएकामा रु ५० अर्ब ९८ करोड कर्जा पुगेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ५०१ ऋणीको रु तीन अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा खर्च भएको छ ।
यो पनि – सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने
काठमाडौँ, १० भदौ (रासस) : नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्नुहुने भएको छ । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उहाँ सोही टोलीमा अनुबन्धित हुनुभएको थियो । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।
गत वर्षको बिबिएलमा उहाँले आठ खेलमा आठ विकेट लिनुभएको थियो । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसक्नुभएको छ । सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उहाँले आठ खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उहाँले १३ खेलमा १५ विकेट लिनुभएको थियो ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उहाँ हाल ओमानमा हुनुहुन्छ । उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्याग्नुभएको थियो । यसपटक उहाँले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनुपरेको थियो ।



प्रतिक्रिया