जाजरकोट, १३ भदौ (रासस) : यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले रु एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा रु आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो । यसैगरी शिवालय गाउँपालिकाले रु ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले रु ९५ करोड ५२ लाख पाँच हजारको लेखापरीक्षण गराएकामा रु चार करोड ६६ लाख ६१ हजार अर्थात् चार दशमलव ८८ प्रतिशत बेरुजु आएको हो ।
बारेकोट गाउँपालिकाले रु ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड २९ लाख ८६ हजार, भेरी नगरपालिकाले रु एक अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४८ लाख १३ हजार , नलगाड नगरपालिकाले रु एक अर्ब आठ करोड २४ लाख सात हजारको लेखापरीक्षण गराएकामा रु दुई करोड ७१ लाख ६५ हजार अर्थात् दुई दशमलव ५१ प्रतिशत बेरुजु देखिएको हो । जिल्लामा सबैभन्दा कम कुशे गाउँपालिकाको बेरुजु देखिएको छ । कुशेले रु ८६ करोड ४४ लाख ३२ हजारको लेखापरीक्षण गराएकामा रु दुई करोड तीन लाख ३० हजार अर्थात् दुई दशमलव ३५ प्रतिशत बेरुजु देखिएको हो ।
हिसाबकिताब पारदर्शी नराखेको, आर्थिक ऐन र नियमावलीविपरीत भुक्तानी दिइएको, कागजात र बिल भर्पाइ नमिलेको, नियमावलीविपरीत खरिद तथा भुक्तानी दिइएको आदि कारण जनाउँदै महालेखाले बेरुजु निकालेको हो । बेरुजु रकममध्ये केही असुलउपर गुर्नपर्ने, केही नियमित गर्नुपर्ने र पेश्की बेरुजुका रूपमा रहने कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त कोष नियन्त्रक राम शाहले बताउनुभयो । पेश्की बेरुजु र नियमित गर्नुपर्ने कुराभन्दा असुलउपर गर्नुपर्ने खर्च सबैभन्दा बढी खतरनाक हो । जनप्रतिनिधीको बलमिच््याइँले गर्दा यस्तो स्थिति आउने उहाँको भनाइ छ ।आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनका आधारमा उक्त बेरुजु देखिएको हो ।
यो पनि – मकै जोगाउन रातमा जाग्राम
डोटी, १३ भदौ (रासस) : जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआइसिंह–५ तलिगाउँका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावरले बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”
यहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनिने तेलेलेकबाट आउने बँदेलको झुण्डले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपालिका–५ का भरत सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “राति बँदेल हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन, सबै बाली खाएर नोक्सान गर्ने गरेका छन् ।”
डिभिजन वन कार्यालयले जङ्गली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।



प्रतिक्रिया