ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज
ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । “प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो, “प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।” देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उहाँको भनाइ छ । कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यो पनि – ट्रक दुर्घटना हुदा वडा सदस्यको मृत्यु
गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ । पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो ।
यो पनि -सवारी दुर्घटनामा घाइतेको समीट एयरको विमानमार्फत उद्धार
दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।
राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उहाँसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते हुनुभएको छ ।
यो पनि – पाँच किलो चाँदीसहित दुई पक्राउ
लहान, ३१ भदौ (रासस) : ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ
बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो पनि – हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन
काठमाडौँ, ३१ भदौ (रासस) : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।
यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितब्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।
यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही सातादेखि एयरललाइन्सका सबै उडान कर्मचारीलाई उक्त जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखिकरणसमेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।
एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत सो डफिब्रिलेटरको प्रयोगबारे बृहत तालिम दिएको छ ।