अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मिर्गौलापीडित सरोकार समाजले बजेटमा मिर्गौलापीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले आज धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गङ्गादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गर्नुभएको हो । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौलापीडित हुनुहुन्छ । उहाँको नियमति डायलासिस भइरहेको छ ।

“अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता अर्थमन्त्री शर्माले पुनः दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीलाई मासिक भत्ता पाँच हजार दिने बजेटमा व्यवस्था गर्नुभएकामा सम्पूर्ण दीर्घरोगीका तर्फबाट एकमुष्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ”, धन्यवाद पत्रमा भनिएको छ ।

धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौलापीडित लगायतको साथमा रहेको बताउनुभयो । सरकारले डायलासिस गरिरहेका मिर्गौलापीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिनुभयो । “हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ”, मन्त्री शर्माले भन्नुभयो, “प्रत्यारोपणमात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।” धन्यवादपत्र ज्ञापन गर्ने क्रममा मिर्गौलापीडित सरोकार समाजले स्वास्थ्य बीमालाई रु एक लाखबाट रु दुई लाख, दीर्घरोगीका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका मागसमेत राखेको थियो ।

अर्थमन्त्री शर्माले संसद्मा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमा क्यान्सर, मिर्गौलापीडित, स्पाइनल कर्ड इन्ज्युरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ ।