सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै आएको थियो ।

सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पत्र नआएकोे साल्ट ट्रेडिङ कर्पाेरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यादेश आएको छैन, त्यसैले कार्यान्वयन गर्न सकिएको छैन ।” सुदूरपश्चिममा सुपथ मूल्य सञ्चालनका लागि खाद्य सामग्रीसमेत नआएको उहाँको भनाइ छ । कर्पोरेसनले विगत वर्षमा कैलालीको धनगढीस्थित अञ्चल कार्यालय, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको थियो । सुदूरको सबै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न समस्या हुने कर्पोरेसनले जनाएको छ ।

“अनलाइन बिलिङका कारण धनगढी र अत्तरियाबाहेक अन्य स्थानमा पसल सञ्चालन गर्न समस्या छ”, पाण्डेले भन्नुभयो । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ गरेर मात्र सामग्री बिक्री गर्न अनुमति दिएकाले सबै ठाउँमा जनशक्ति र उपकरण अभावले पसल सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । “अनलाइन बिलिङको समस्या भएको ठाउँमा स्थानीय तहले सहकारीमार्फत सञ्चालन गर्न सक्छ, सामग्री हामीले पठाउँछौँ, जिल्ला प्रशासनले सिफारिस गरेको हुनुपर्छ”, पाण्डेले भन्नुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि देशभर आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

यो पनि – बजेट अभावमा रोकिँदै १३ सडक योजना

सरकारले पूरक बजेट ल्याउँदा बागलुङका १३ सडक आयोजना प्रभावित हुने भएका छन् । केही वर्षअघिदेखि स्तरोन्नतिको चरणमा रहेका सडक बजेट अभावका कारण प्रभावित हुने भएका हुन् । बागलुङको मालढुङ्गादेखि पाग्जा, लहरेबर, अमलाचौर हुँदै कुश्मीशेरा जोड्ने सडक स्तरोन्नतिको चरणमा छ । आर्थिक वर्ष २०७६ मा बागलुङ नगरपालिका–१३, पैञ्युँपाटामा झण्डै एक किलोमिटर स्तरोन्नति गरेर कालोपत्र भएको सडक अघिल्लो आवमा अमलाचौरमा झण्डै आधा किलोमिटर कालोपत्र भएको थियो । सङ्घीय सरकारको रु दुई करोड र थप बजेट रु ४० लाखमा काम सुरु गरिएको उक्त सडकको केही काम अझै बाँकी छ । चालु वर्षका लागि विनियोजित बजेट संशोधन भएपछि यो सडकले पूर्णता नपाउने बागलुङ–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले बताउनुभयो ।

काठेखोला गाउँपालिकाको अक्षेतेबाट मुल्ठाना हुँदै सिम सडक स्तरोन्नतिको चरणमा थियो । अघिल्ला दुई वर्षमा सडक फराकिलो बनाउने काम भएको थियो । केही असजिलो ठाउँमा ग्यावियन लगाउने काम गत आवमा भएको थियो । बहुवर्षे योजनाका रूपमा काम भइरहेको यो सडकमा विनियोजित बजेट संशोधन हुँदा गाउँपालिकाको मुख्य सडककै काम रोकिने अध्यक्ष अमर थापा बताउनुहुन्छ ।

बागलुङ नगरपालिकाको गलुवा हुँदै भकुण्डेबाट डोठेताल पुग्ने सडकको समेत काम अलपत्र पर्नेछ । गत आवमा रु एक करोड ४० लाख बजेट रहेको सडकको स्तरोन्नतिको काम भइरहेको छ । चालु आवका लागि भने बजेट शून्य रहेको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मुकुन्द लामिछानेले बताउनुभयो ।सदरमुकाम बागलुुङ बजारबाट बरेङ गाउँपालिका पुग्ने छोटो सडकका रूपमा सिगाना, चापाखर्क हुँदै बरेङ जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको तीन वर्ष भएको थियो । सडक फराकिलो बनाउने, नाली बनाउने र असजिलो ठाउँमा ढलान गर्ने स्टिमेट रहेको सडकको काम पनि बजेट अभावले प्रभावित हुनेछ ।

वैकल्पिक मार्गका रूपमा विकास भइरहेको सडकको काम रोकिँदा सर्वसाधारण मर्कामा पर्नेछन् । “गत वर्ष बाँकी रहेको बजेटबाट सबै सडकमा काम हुन्छ, तर बजेट अभावमा नयाँ स्टिमेट भर काम नहुने भयो”, लामिछानेले भन्नुभयोे, “जिल्लाभरका १३ सडकको स्तरोन्नति भइरहेको थियो, नयाँ सडकको पनि कुनै योजना चल्ने छैनन् ।”

सडक सुधार विस्तारका योजना सबै संशोधन हुँदा जिल्लाभर १३ सडक प्रभावित हुनेछन् । वर्षायाममा बिग्रिएका सडक मर्मतका लागि समेत डिभिजनसँग स्रोतको अभाव छ । गत असार १ गतेको बाढी र वर्षाका कारण पहिराले कामै नलाग्ने बनाएको बागलुुङ–कुश्मीशेरा सडकको मर्मतका लागि बजेटको अभाव रहेको लामिछानेले बताउनुभयो ।