कोरोनाले बढायो स्वास्थ्य सचेतना

कोरोनाले बढायो स्वास्थ्य सचेतना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोनाका कारण नागरिकमा स्वास्थ्यप्रतिको चासो बढ्दै गएको छ । पछिल्लो समय स्वास्थ्य चेतना बढ्दै जाँदा कोरोना सङ्क्रमण दर मात्रै होइन, सरुवा रोगसमेत घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।  कोरोना सङ्क्रमण फैलन थालेको पछिल्लो दुई वर्षयता सरुवा रोगमा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरमै बनाएको परिकार खान थालेपछि सरुवा रोगमा पनि कमी आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

तथ्याङ्कमा यकिन सङ्ख्यामा यति कमी भयो भन्ने नभए पनि पछिल्लो दुई वर्षयता झाडापखाला, आऊ, हैजा र टाइफाइडको बिरामी नगन्य मात्रामा मात्रै फेला परेको उहाँको भनाइ छ । “अस्पतालमा उपचारका लागि आउने बिरामीको रोग हेर्दासमेत यस्ता कुरा सहजै स्वास्थ्यकर्मीले अनुमान लगाउन सकिन्छ, अहिले टाइफाइड, झाडापखाला, आऊ र हैजाजस्ता रोगका बिरामी निकै कम आएको पाइयो”, स्वास्थ्यकर्मी खनालले भन्नुभयो, “कोरोनाका कारणभन्दा पनि कोरोनाले हात धुने, स्यानिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्ने नागरिक बढेसँगै यस्ता सरुवा रोग सर्न पाएन, पछिल्लो समय स्वास्थ्यप्रति धेरै नागरिक सजग भएकोसमेत पाइएको छ ।”

नेपालमा बर्खायाममा झाडापखलाको महामारीका कारण गाउँ नै सखाप हुने अवस्था रहे पनि अहिले त्यस्तो समाचार खासै नसुनिएको खनालको भनाइ छ । बागलुङमा कोरोनाअघि धवलागिरि अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या धेरै देखिने गरे पनि अहिले निकै कम सङ्ख्यामा आउने गरेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी सजगता, बासी, सडेगलेका खानेकुरा नखाने, नियमित हात धुने तथा मास्कको प्रयोगले खाना र हावाको माध्यमबाट सर्ने रोगमा कमी आउन थालेको छ । कोरोनाले दुई वर्षको अन्तरालमा नागरिकमा स्वास्थ्यसम्बन्धी चेतना बढेको र आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षा सचेततालाई जीवनशैली बनाउन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं बताउनुहुन्छ । उहाँका अनुसार स्वास्थ्य सचेतना बढ्दा स्वास्थ्यसम्बन्धी विभिन्न रोगमा कमी आउने अनुमान छ । जिल्लामा पहिलो कोरोनाको लहरमा एक हजार र दोस्रो लहरमा ७४० पुगेको सक्रिय सङ्क्रमणको दर घटेर जम्मा ७६ पुगेको र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

कोरोना सङ्क्रमण दर कम भएसँगै जिल्लामा चहलपहल हुन थालेको छ भने लामो समयदेखि बन्द रहेका विद्यालय तथा पार्टी प्यालेस र धार्मिक क्षेत्र खुलासमेत गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप

कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्याङ्कानुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । त्यसैगरी जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६६६ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कूल ६६ हजार ९९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७०८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताउनुभयो । जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको सङ्ख्या भने बढ्दै गएको छ । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आव २०७६÷७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताउनुभयो ।

यो पनि – कोरोना सङ्क्रमण झापामा सबैभन्दा बढी

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा छ, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेशभरमा २१६ जनामा कोरोना सङ्क्रमण भएकामा ५३१ को पिसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ को रिपोर्ट पोजेटिभ पुष्टि भएको बताइएको छ । स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जना सङ्क्रमित भएका छन् ।

झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा छ/छ, बाह्रदशी र बुद्धशान्तिमा दुई/दुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एक/एक गरी १२ वटा पालिकामा कोरोना सङ्क्रमित भएका छन् । यस्तै सुनसरीको इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एक/एक, मोरङको विराटनगरमा १५, बूढीगङ्गामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक÷एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई/दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एक/एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा महिला र पुरुष बराबर छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १०६६ जनामा कोरोना संक्रमित,१२३४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५४० पीसीआर र २८१८  एन्टीजेन परीक्षणमा  १०६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८३  हजार ९१० पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८८ हजार ८९० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार २३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – यहि असोज ४ गतेदेखि भेरोसेल दोस्रो मात्रा लगाउने खोप

काठमाडौँ, २ असोज (रासस) ःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ÷नौ खोप केन्द्र तोकिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।

यो पनि -कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो ।

एघार स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा कोरोना सङ्क्रमणबाट २७ जना जनाको मृत्यु भएको छ । सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ । यस्तै कोरोनाबाट गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६÷६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई दुुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।

जिल्लामा शुक्रबारसम्म तीन हजार ७२८ पुरुष र तीन हजार १० महिला सङ्क्रमित भएका छन् । हाल जिल्लामा ९८ पुरुष र ८१ महिला गरी १७९ सक्रिय सङ्क्रमित छन् । हालसम्म तीन हजार ५६८ पुरुष र दुई हजार ८९१ महिला निको भई घर फर्किएका शर्माले जानकारी दिनुभयो । जिल्लामा हाल १७७ सङ्क्रमित होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ७९ हजार ९८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६१ हजार नौ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।