वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको बैठकले बजेट निर्माण गर्दा अनिवार्यरूपमा कार्यविधि र वित्तीय अनुशासन पालना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगकी अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको आयोगको पूर्ण बैठकले यो वर्ष गर्नुपर्ने कामका विषयमा समीक्षा गरेर सरकारलाई अब जानुपर्ने बाटोका विषयमा जानकारी गराउने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष र सदस्यहरुको जिम्मेवारीसमेत बाँडफाँट गरेको आयोगका उपाध्यक्ष डा जगत्बहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले सदस्यले हेर्ने मन्त्रालय तोकेकोे उहाँले बताउनुभयो । हरेक महिनाको ३ गते आयोगको नियमित बैठक बस्ने, आयोगको चार वर्षको वार्षिक कार्यक्रम तयार पार्ने, बजेट निर्माण गर्दा कार्यविधि र वित्तीय अनुशासनलाई ध्यान दिने, तीनै तहका सरकारबीच सहकार्य र समन्वयबाट अगाडि बढ्ने, प्रत्येक महिना सम्बधित मन्त्रालयसँग बसेर गरेका कामको समीक्षा गर्दै आगामी दिनमा गरिने कामका योजना अगाडि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
‘पार्टीभित्रका समस्या समाधान हुँदै गएका छन्’
वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) ले नै मुलुकलाई समृद्ध बनाउन सक्ने दाबी गर्नुभएको छ । युवा सङ्घ मकवानपुरद्वारा आज हेटौँडाको कमानेमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र केही समस्या देखिएको भए पनि समस्या समाधान हुँदै गएको उल्लेख गर्नुभयो । पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अनेकन प्रयास भएको बताउँदै एमाले नफुटेको दाबी गर्नुभयो । उहाँले केही नेताले पार्टी छोड्नुलाई एमालेको बर्वादीको रुपमा ब्याख्या गरिएको भन्दै यो विभाजनले पार्टीलाई थोरै मात्रै असर गर्ने बताउनुभयो ।
यो पनि – तातोपानी भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । भन्सारनाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिराले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ ।
सडक अवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपरेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । दशैँ, तिहार नजिकिँदै जाँदा पनि नाका पूर्णरूपमा सञ्चालन भएको छैन, जसकाकारण गत वर्षझै अभाव सिर्जना हुनसक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
भन्सार कार्यालयमा असार र साउनमा क्रमशः रु ११ करोड ३९ लाख र रु सात करोड २१ लाख राजस्व सङ्कलन भएको छ । कोरोना महामारीबीच नेपाली व्यापारीले चीनबाट सामान खरिद गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा चीनबाट खासा हुँदै नेपाल आइपुगेका १० मुख्य सामग्रीको परिमाण र मूल्य हेर्दा विगतमा भन्दा निकै कम सामग्री आयात भएको पाइएको छ ।
प्रमुख भन्सार अधिकृत गौतमका अनुसार रु ५२ करोड ६७ लाखको तयारी कपडा ४२ लाख ९८ हजार ७२३ युनिट, रु एक अर्ब २२ करोड ८५ लाख मूल्यको स्याउ एक करोड ६५ लाख ७८ हजार ४१४ केजी, रु १९ करोड ४५ लाखको मेडिकल मास्क पाँच करोड ८५ लाख १६ हजार ३४० युनिट तातोपानी नाकाबाट नेपाल भित्रिएको छ ।
त्यसैगरी रु १३ करोड ४६ लाखको ओखर चार लाख ३९ हजार ७२ केजी, रु सात करोड २३ लाखको महिलाले लगाउने जुत्ता, रु चार करोड ६५ लाखको रबर र प्लास्टिकका जुत्ता, रु चार करोड पाँच लाखको डम्फर, रु छ करोड ४२ लाखको ट्रेलर, रु पाँच करोड ५८ लाखको सुती कपडा र पाँच करोड ४६ लाख मूल्यको चार लाख ५२ हजार ४५० केजी लसुन आयात भएको थियो । यस अलावा कोरोना महामारीको दोस्रो लहर सुरु हुनासाथ निजी क्षेत्र र अनुदानवापतको झण्डै ३० हजार थान अक्सिजन सिलिन्डर पनि तातोपानी नाकाबाट नेपाल भित्रिएको थियो । तर स्वास्थ्य सामग्रीका लागि भने राजस्व छुट थियो । विसं २०७२ को भूकम्पअघि दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।



प्रतिक्रिया