जनगणना ः गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

जनगणना ः गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

घर, परिवार लगायतको तथ्याङ्क तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको उहाँले बताउनुभयो । “तीन दिनमा एकैपटक तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सदरमुकामै अवरोध भइरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौँ ।”

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो । “गणनाका लागि एउटा एप छ सोही एपमा अनलाइन नभए पनि प्रविष्ट हुन्छ”,उहाँ भन्नुभयो, “हामीले तथ्याङ्क पाउन भने सङ्कलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ ।”जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिनेछ । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक १०÷१० वर्षमा जनगणना गरिन्छ ।

यो पनि – सातौँ संविधान दिवस मनाइँदै

सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ । जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ । निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।

यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ । नेकपा एमालेभित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो । उक्त घटनाक्रमले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई तिक्ततापूर्ण बनाएको हो । प्रमुख राजनीतिक दलभित्र देखिएको सत्ता सङ्घर्ष जोडिएर आएका निर्णय र प्रकट भएका विचारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज घटनाएको गुनासा सुनिएको छ ।

संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पु¥याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

यो पनि -संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताउनुभएको छ । संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिनुहुँदै उहाँले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गर्नुभएको छ ।

उपाध्यक्ष दाहालले भन्नुभएको छ, “नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैले संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु ।” ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणालीजस्ता महत्वपूर्ण उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिएको उपाध्यक्ष दाहालले स्मरण गर्नुभएको छ ।

नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको पनि संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उपाध्यक्षले संविधान जारी भएपछि सङ्घीय संसद्ले मौलिक हकलगायत अन्य थुप्रै ऐन कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको बताउनुभएको छ । संविधानको कार्यान्वयनमा भएका पहलकदमीहरुको समीक्षा गर्दै इमान्दारितापूर्वक यसको पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने उहाँको सन्देशमा उल्लेख छ ।

यो पनि – संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गर्नुभएको छ । अध्यक्ष नेपालले सन्देशमा भन्नुभएको छ, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ ।”

पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गर्नुभएको छ । स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालले सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।