सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताउनुभएको छ । कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उहाँले कसैलाई पनि न्यायबाट वञ्चित हुन नदिने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो ।
न्यायाधीश कार्कीले निरङ्कुशतामा कानुनी शासन हुन नसक्ने र निरङ्कुशताविरुद्धको आन्दोलनमा कानुन व्यवसायी पनि लागेको स्मरण गर्दै संविधानतः प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । न्याय सम्पादनमा स्वतन्त्रता, निष्पक्षताजस्ता विषय अपरिहार्य भएको बताउँदै उहाँले स्वार्थमा नलागी न्याय दिनेतर्फ कानुन व्यवसायी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
बार एशोसिएशनको आफ्नै भवन निर्माण हुनुले न्याय सम्पादनका कामलाई प्रभावकारी बनाउने बताउँदै उहाँले बार एशोसिएशन र अदालतको सम्बन्ध राम्रो बनाउँदै न्याय सम्पादनलाई स्वतन्त्र र निष्पक्ष बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । कास्की जिल्ला बार एशोसिएशनका कोषाध्यक्ष युवराज पराजुलीले रु ८६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै यसले न्याय सम्पदानका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले न्याय सेवालाई स्वतन्त्र, निष्पक्ष बनाउनुका साथै न्यायमा सबैको पहुँच हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
–––
यो पनि – राजनीतिमा परिवर्तन मेरो अभियानः कांग्रेस प्रवक्ता शर्मा
नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो ।
“हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो”, उहाँले भन्नुभयो, “त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।” उहाँले बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उहाँ जेल बस्नुभएको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाइँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले बीपीको विचारमा चिन्तन र मलजल गरेको गृहजिल्ला झापामा आएर चुनावी अभियान थालेको बताउनुभयो ।
नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्नुभएको छ । सो अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ ।उहाँले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उहाँले बताउनुभयो ।
सात सालदेखि अहिलेसम्म आउँदा मुलुकमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उहाँले नेता र दलहरुको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गर्नुभयो । सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा मुलुकको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेता अलि कति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उहाँले केही नेताको यस्तै कमजोरीलाई औँल्याएर लोकतन्त्र नचाहने शक्ति गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्धृत रहेको बताउनुभयो ।
मुलुकको रुपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आगामी महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताको शुभेच्छा र मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।



प्रतिक्रिया