पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमित,१४१३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमित,१४१३ जना कोरोना संक्रमणमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३०४ पीसीआर र २७०९  एन्टीजेन परीक्षणमा  ७३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८४   हजार ५६६ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८८ हजार ९६८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४९ हजार २१३  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी

जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी कारागारको क्षमता भन्दा करिब चार गुण बढी हुँदा सङ्क्रात्मक रोगकोे जोखिम बढेको छ ।बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ । कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने आठ कैदी महिला छन् । उन्तालीस थुनुवा पुरुष छन् भने दुई महिला छन् । एक कैदीवन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरुमा विभिन्न खालका सास्तीका साथै सङ्क्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताउनुभयो । बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ ।

यो पनि – संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदीबन्दी रिहा

संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले बताउनुभयो ।

कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् । बानी व्यवहार, चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।

यो पनि – राष्ट्रपति भण्डारीद्वारा ५२३ कैदीबन्दीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो ।

त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।

यो पनि – असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४÷५ गतेभित्र सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको बताउनुभयो ।

प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उहाँले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।”

उहाँले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो । उहाँले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताउनुभयो ।

यो पनि – निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहँुदैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताउनुभयो । “कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।”

उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताउनुभयो । उहाँले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राख्नुभयो ।अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राख्नुभयो ।

एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताउनुभयो । उहाँले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डो¥याउनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”

नेता थापाले भ्रष्टाचार उन्मूलन नभईकन मुलुक समृद्धि हुन नसक्ने भन्दै कर्मचारीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । ्भेलामा निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनबीच एकीकरणसमेत भएको छ । सङ्गठनका अध्यक्ष केदार देवकोटाले २७५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो ।

सङ्गठनले निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा निर्वाचित पदाधिकारीलाई फिर्ता बनाउने निर्णयसमेत गरेको छ । ती पदाधिकारिलाई फिर्ता बोलाई केदारप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी पठाउने निर्णय गरेको सङ्गठनका महासचिव रेवन्त गौतमले जानकार िदिनुभयो ।